बाजुरा : बाजुरामा आज दिउँसो भएका दुईवटा छुट्टाछुट्टै जीप दुर्घटनामा परेर दुईको मृत्यु, १० घाइते भएका छन । सदरमुकाम मार्तडीमा स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थल र एक जनाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा मार्तडी कोल्टी सडक खण्डमा पर्ने अपी होटल नजिकै सु प प्र ०१ ००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा कञ्चनपुर भीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया गायत्री पन्त र यस्तै, दुर्घटनामा घाइते भएर उपचारका क्रममा भीमदत्त नगरपालिका–१८ की राधिका भट्टको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते हुनेमा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बाजुराका कार्यालय सहयोगी गौमुल गाउँपालिका–४ बस्ने २५ वर्षीय रमेश धामी, कञ्चनपुर जिल्ला कृष्णपुर–५ गुलरियाका मोहनदेव भट्ट र भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिनेछ । घाइतेहरुको हाल जिल्ला अस्पताल बाजुराका उपचार भइरहेको छ ।
जिप दुर्घटना हुँदा सात जना घाइते
जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा आज जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सोही गाउँपालिका–६ स्थित धिम गाउँमा जिप दुर्घटना भएको हो ।
धिममा एभरेष्ट इन्टरनेटको नेट जडानका लागि १३ जना सवार रहेको गाडी अनियन्त्रित भई दुर्घटना भई सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाइते सात जनाको उद्धार गरी कोल्टी अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ । घटनामा परेका घाइतेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । गाडी अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।