बाँकेमा चुनौती बन्दै छाडा चौपाया व्यवस्थापन

सदरलाइन संवाददाता १ मंसिर २०८०, शुक्रबार १५:५५
 

नेपालगञ्ज : बाँकेमा छाडा पशु चौपाया व्यवस्थापन हुन सकेको छैन । नेपालगञ्ज उपमहानगरले नगरभित्र र बाहिरका स्थानीयले आफ्ना गाईगोरू, घोडा गधा सडकमा निरन्तर छोड्दा चुनौती बढेको छ । सीमा नाकाबाट भित्रिएका छाडा चौपायाका कारण यो समस्या विकराल बन्दै गएको जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पटकपटक छाडा चौपाया व्यवस्थापनका लागि प्रयास गरिए पनि सफल हुन नसकेको बताए । उनले स्थानीयको असहयोगका कारण छाडा चौपाया व्यवस्थापन गर्न नसकिएको बताए ।

बाँकेका स्थानीय तहले छाडाचौपाया नियमन गर्न कार्यविधि लागू गरे पनि त्यसको प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । विगत केही वर्षदेखि नेपालगन्ज र कोहलपुरको बजार क्षेत्र मात्र नभएर ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले पनि छाडा पशु चौपायाको कारण दिनदिनै हैरानी खेपिरहेका छन् ।

नेपालगञ्ज र कोहलपुरका बजार तथा मुख्य सडक र ग्रामीण क्षेत्रका दोबाटोमा जताततै छाडा चौपायाको बथान देखिन्छ । छाडा पशु चौपायाका कारण किसानको बालीनाली नोक्सानीसँगै सवारी दुर्घटना बढिरहेको छ ।

खान मात्र नभई छाडा पशु चौपायकै कारण नेपालगञ्ज, कोहलपुर, खजुरामा धेरै सडक दुर्घटना भइसकेका छन् ।


बाँकेका आठ वटै पालिकामा छाडा चौपायाको समस्या छ । यो समस्या समाधान गर्ने प्रतिबद्धता गरेका जनप्रतिनिधिका लागि यो विषय अहिले चिन्ताको विषय बन्दै गएको छ ।

छाडा पशुचौपाया व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरले राप्ती सोनारी गाउँपालिकासँग सहकार्य गरेर चार सय गाई गोरुको व्यवस्थापन गर्ने घोषणा गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

छाडा चौपाया व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले भौतिक पूर्वाधार बनाउनका लागि राप्ती सोनारी गाउँपालिकालाई ३५ लाख रुपियाँ निकासा गरिसकेको नगरप्रमुख विष्टको भनाइ छ ।

यस्तै कोहलपुर नगरपालिका पनि छाडा चौपायको व्यवस्थापनमा जटायु कम्पनीसँग समन्वय गरेर काम गरिरहेको नगर प्रमुख पूर्णप्रसाद आचार्यको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार छाडा पशुचौपायाका कारण बाँके जिल्लामा तीन वर्षमा ४० जनाको मृत्यु भएको छ । (गोरखापत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा उर्दु साहित्यको विकासमा शायरको योगदान

१ मंसिर २०८०, शुक्रबार १५:५५
नेपालगञ्ज : पश्चिम नेपालको प्रमुख सांस्कृतिक सहर नेपालगञ्ज बाँके जिल्लाको सदरमुकाम हो । सद्भावको सहरका रुपमा परिचित बाँके जिल्लामा विभिन्न धर्म, समुदाय र कला संस्कृति मान्नेको बाक्लो बसोबास रहेको छ । हिन्दु, मुस्लिम, सिख र ईसाईको साझा सहरको रुपमा परिचित यो सहर सामूहिक संस्कृति र साहित्यका लागि पनि परिचित छ […]

ताजा अपडेट