बाँकेमा उर्दु साहित्यको विकासमा शायरको योगदान

सदरलाइन संवाददाता १ मंसिर २०८०, शुक्रबार १६:०४
 

नेपालगञ्ज : पश्चिम नेपालको प्रमुख सांस्कृतिक सहर नेपालगञ्ज बाँके जिल्लाको सदरमुकाम हो । सद्भावको सहरका रुपमा परिचित बाँके जिल्लामा विभिन्न धर्म, समुदाय र कला संस्कृति मान्नेको बाक्लो बसोबास रहेको छ ।

हिन्दु, मुस्लिम, सिख र ईसाईको साझा सहरको रुपमा परिचित यो सहर सामूहिक संस्कृति र साहित्यका लागि पनि परिचित छ । त्यसैले नै यहाँ हुने हरेक साहित्यिक गतिविधि र कार्यक्रममा बहुभाषिक कवि गोष्ठी अनिवार्य राखिने गरिएको छ ।

बहुभाषिक गोष्ठिमा नेपाली, उर्दु, अवधी र थारु भाषाका कविता र गजल वाचन हुने वरिष्ठ कथाकार सनतकुमार रेग्मी बताउँछन् । उनले बहुभाषिक कार्यक्रमले साहित्यमा बेग्लै आनन्द आउने गरेको बताए ।

नेपालगञ्ज भारतीय सीमानासँग गाँसिएको र मुस्लिम समुदायको राम्रो बसोबास भएको सहर भएकोले यहाँ उर्दु साहित्यको गतिविधि र कार्यक्रम विगत लामो समयदेखि हुँदै आएका छन् ।

समय समयमा आयोजना हुने मुशायरा र बहुभाषिक कवि गोष्ठीले गर्दा उर्दु साहित्यप्रति साहित्य प्रेमीको आकर्षण बढ्दै गएको छ । उर्दु साहित्यको विकास र निरन्तरताका लागि बाँकेका उर्दु साहित्यकारको साझा संगठन गुलजार ए अदबले निरन्तर उर्दु मुशायरा र अन्य साहित्यिक गतिविधि गर्दै आएको छ ।

उर्दु भाषासँगसँगै अन्य सबै भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उर्दु साहित्यकारद्वारा गठन गरिएको सो संस्थाले केही समययता निरन्तर उर्दु मुशायरा र बहुभाषिक कवि गोष्ठीको आयोजना गर्दै आएको छ । सो कार्यमा करिब पाँच दशकदेखि निरन्तर खटिंदै आएका छन्, नेपालगञ्जका वरिष्ठ उर्दु साहित्यकार अब्दुल लतिफ शौक । उनले उर्दु गजल लेख्ने गरेको पाँच दशक पुरा भएको छ ।


पाँच दशकदेखि निरन्तर उर्दु साहित्यको जगेर्नाका लागि खटिएकोले अहिले पनि उर्दु साहित्यप्रति मुस्लिम मात्र नभई अन्यको पनि रुचि बढ्दै गएको शौकले बताए ।

उर्दु साहित्यका लागि निरन्तर लागि रहेका अर्का वरिष्ठ शायर हुन् सैयद असफाक रसूल हाशमी । उनी चार दशकदेखि उर्दु साहित्यमा निरन्तर कलम चलाउँदै आएका छन् ।

उनले युवा पुस्तामा उर्दु शायरीप्रति आकर्षण बढ्दै गएको पाइएकोले आफूहरुले मुशायरालाई निरन्तरता दिइएको बताए । निरन्तर मुशायराको आयोजना गरिन थालिएपछि अहिले कार्यक्रममा आउनेको संख्या बढ्दै गएको छ ।

उर्दु साहित्यका लागि अथक प्रयास गर्ने मोहम्मद फारुक, युनुस अदिब, मौलाना खयाली, मोहम्मद उमर असर, उमर फारुकी र नजिर हुसैन साहिल अब रहेनन् । उनीहरुको निरन्तर प्रयासले उर्दु साहित्यको संरक्षणमा ठुलो सहयोग पुगेको गुलजार ए अदबका सचिव मोहम्मद मुस्तफा अहशन कुरैशीले जानकारी दिए ।

उर्दु साहित्यलाई जिवन्त राख्न साहित्यकारहरु रशिद अहमद, जमिल अहमद हासमी, सरवर नेपाली, बब्बु फारुकी, मेराज अहमद हिमालय, अब्दुल हमिद सिद्दिकी लगायतले पनि निरन्तर अहम भूमिका निर्वाह गर्दै आएका छन् । गुलजार ए अदबले लामो समयदेखि उर्दु साहत्यिको विकासका लागि विभिन्न काम गर्दै आएकोले त्यसलाई निरन्तरता दिन साहित्यप्रेमीहरुले आग्रह गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनगढीमा आगलागी हुँदा अस्पतालसहित ८ पसल जले

१ मंसिर २०८०, शुक्रबार १६:०४
कैलाली : कैलालीको मुख्य बजार धनगढीमा आगलागी हुँदा अस्पतालसहित ८ पसल जलेका छन् । शुक्रवार राती १ बजे धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा विद्युत सर्ट भएर आगलागी हुँदा अस्पतालसहित ८ पसल जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी हुँदा सारथी […]