तेह्र दिनमा ३ करोड बिद्युतको बक्यौता रकम असुल

सदरलाइन संवाददाता २५ कार्तिक २०८०, शनिबार १४:५८
 

नेपालगञ्ज : लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा १२ दिनको अवधिमा १७ सयभन्दा बढी सेवाग्राहीबाट झण्डै तीन करोड बाँकी बक्यौता रकम असुल भएको छ ।

कात्तिक १२ गतेदेखि २४ गतेसम्मको तेह्र दिनको समय अवधिमा १ हजार ७ सय ७१ जना सेवाग्राहीबाट २ करोड ९८ लाख ८ हजार रुपैयाँ बक्यौता रकम उठेको लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख ई.हरिप्रसाद पाण्डेले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय मातहतका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र रुकुमपूर्व जिल्लाका १० विद्युत् वितरण केन्द्रबाट तेह्र दिनको अवधिमा ४ करोड १६ हजार रुपियाँ विद्युत् महसुलबापतको बाँकी बक्यौता रकम नतिर्ने ४ हजार २ सय २६ जना सेवाग्राहीको लाइन काटिएको डिभिजन प्रमुख पाण्डेले जानकारी दिए ।

लाइन काटिएपछि सो समय अविधिमा १ हजार ७ सय ७१ जना सेवाग्राहीले नियमानुसार पुनः लाइन जाडेको र पुनः लाइन जोड्ने क्रममा २ करोड ९८ लाख ८ हजार रुपैयाँ विद्युतको बाँकी बक्यौता रकम सङ्कलन भएको उनले जानकारी दिए ।

त्यसैगरी यो आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक २४ गतेसम्मको समय अवधिमा लुम्बिनी प्रदेशका ६ जिल्लाका ६ हजार ७३ जना सेवाग्राहीको लाइन काटिएको लुम्बिनी प्रदेश डिभिजन कार्यालयले जनाएको छ ।


कार्यालयका अनुसार १३ करोड २५ लाख १२ हजार रुपैयाँ विद्युत् महसुल तिर्न बाँकी रहेका ६ हजार ७३ जना सेवाग्राहीको लाइन काटिएको हो । लाइन काटिएका सेवाग्राहीमध्ये २३ गतेसम्म ३ हजार ४ सय १७ जनाले पुनः लाइन जोडेको र उनीहरुबाट ६ करोड १० लाख ३६ हजार रुपियाँ बाँकी बक्यौता रकम सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ ।

नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र रुकुमपूर्व गरी ६ वटा जिल्लाका नेपालगञ्ज वितरण केन्द्र, गुलरीया वितरण केन्द्र, घोराही वितरण केन्द्र, कोहलपुर वितरण केन्द्र, राजापुर वितरण केन्द्र, लमही वितरण केन्द्र, तुलसीपुर वितरण केन्द्र, प्युठान वितरण केन्द्र, रुकुमपूर्व वितरण केन्द्र, रोल्पा वितरण वितरण केन्द्रगरी १० केन्द्रबाट आफ्नो सेवा प्रवाह गर्दैआएको छ ।

विद्युत महसुल बुझाउन बाँकी भई लाइन काटिएका सेवाग्राहीले बक्यौता रकम तिर्न शनिबार पनि काउन्टर खुला राखिएको डिभिजन प्रमुख पाण्डेले जानकारी दिए । लाइन काट्ने अभियान तिहारभरिका लागि स्थगित गरिएको र तिहारलगत्तै नियमित प्रक्रिया शुरु हुने उनले बताए ।

“तिहार शुरु भएको छ, कतिपय पैसा नबुझाएका सेवाग्राहीको लाइन काटिएको छ, तिहारको समयमा पैसा बुझाउन पाइनँ, घर अँध्यारो भयो भन्नेहरुका लागि पैसा बुझाउन सहज होस् भनेर आज शनिबार पनि महसुल काउन्टर खुला राखेका छौं ।” उनले भने, “आजबाट लाइन काट्ने कामलाई तिहारभरिका लागि स्थगित गरेका छौं, तिहारपछि लगत्तै नियमित प्रक्रियाअनुसार काम सुरु गर्छौं ।”

नेपाल विद्युत प्राधिकरणले कात्तिक १२ गतेदेखि ६० दिन पुग्दासम्म पनि विद्युत् महसुल नबुझाएका सेवाग्राहीको लाइन काट्ने अभियान सञ्चालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार बेल्वासेद्वारा स्व. दुर्गा स्मृती पत्रकारिता पुरस्कार घोषणा

२५ कार्तिक २०८०, शनिबार १४:५८
कोहलपुर (बाँके) : नेपाल पत्रकार महासंघ बाँकेको पुर्व सहसचिव तथा प्रेस चौतारी केन्द्रिय अनुशासन आयोगका सदस्य विष्णु प्रसाद वेल्वासेले आफना स्वर्गिय पिता दुर्गा प्रसाद वेल्वासेको स्मृतीमा कोहलपुर क्षेत्रमा क्रियाशिल पत्रकारहरुको हौसला बढाउने उद्देश्यले प्रत्येक बर्ष मंसिर ५ गते एकजनालाई प्रदान गर्ने गरि स्व. दुर्गा स्मृती पत्रकारिता पुरस्कार घोषणा गरेका छन् […]