परस्पुर–गौघाट सडक निर्माणमा ढिलाई

सदरलाइन संवाददाता २१ भाद्र २०८०, बिहीबार १५:५५
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको परस्पुरदेखि जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका –२ सीतापुर जोड्ने सडक निर्माणमा ढिलाई भएको छ ।

निर्माण सुरु भएको करिब डेढ वर्षको अवधिमा कामले गति लिन नसकेपछि खजुरा गाउँपालिकाले सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएको छ । डेढ वर्षको अवधिमा जानकी र खजुरा गाउँपालिकाको सीमामा एउटा कल्भर्ट र केही सामान्य काम बाहेक कामले गति लिन नसकेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले जानकारी दिए ।

अध्यक्ष विकले भने, ‘निर्माण सुरु भएको डेढ वर्षको अवधिमा निर्माण कार्य सुस्त भएपछि समयमै काम हुन सक्ने सम्भावना कम देखिएको छ, छिटो निर्माण कार्य गराउन वा नयाँ निर्णयमा जान गाउँपालिकाले बारम्बार सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराइरहेको छ ।’

करिब १० किलोमिटर सडक कालोपत्रेका लागि कंकाई–गणपति जेभीले भ्याट र पिएससहित १३ करोड ४३ लाख रुपैयाँमा निर्माणको जिम्मेवारी पाएको छ । बस्तीमा दुवैतर्फ नालीसहित १० मिटर चौडाइको सडक बन्नेछ । निर्माण कम्पनीका अनुसार ७ मिटर कालोपत्रे हुनेछ ।


अघिल्लो वर्ष वैशाख २५ गते सम्झौता भएको सडकको निर्माण कार्य २०८१ भदौ २४ गते सम्पन्न हुने सम्झौतामा उल्लेख गरिएको छ । कालोपत्रे जीर्ण भएपछि भत्काएर जीर्ण ग्राभेल गरिएको छ ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत आर्थिक वर्ष २०७८/७९ मा बजेट विनियोजन गरी निर्माण सुरु गरेको हो । यो सडकलाई बर्दियाको कण्ठपुर हुँदै गुलरिया सडकखण्डमा जोड्ने योजना छ ।

सडक डिभिजन कार्यालय नेपालगञ्जले निर्माण कम्पनीलाई छिटोभन्दा छिटो निर्माण कार्य अघि बढाउन ताकेता गरिरहेको जवाफ दिनेगरेको गाउँपालिका अध्यक्ष विकले जानकारी दिए । यो सडकको बीचभागमा पर्ने किरणनाला पुल समेत ढिलोगरी सम्पन्न हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रिक्साबाट मासिक तीन लाखसम्म आम्दानी

२१ भाद्र २०८०, बिहीबार १५:५५
हुम्ला : नेपाल र चीनको सिमाना हिल्सामा अटो रिक्सा चालकको दैनिक कमाइ राम्रो रहेको पाइएको छ । चीनको ताक्लाकोटबाट नेपालमा आउने सामान ओसार्ने कार्य गर्दा अटो चालकको कमाइ राम्रो हुने गरेको हो । हिल्साका अटो चालक नाम्खा गाउँपालिका– ६ को लिमीको जाङ गाउँका पासाङ लामा अटो चलाएर दैनिक राम्रो कमाई […]