भेरी अस्पताललाई आवश्यक परे सेनाले चिकित्सक सहयोग गर्ने

सदरलाइन संवाददाता १९ कार्तिक २०८०, आईतवार १४:०८
 

नेपालगञ्ज : सैनिक अस्पताल, नेपालगञ्जका कमाण्डन महासेनानी डा. इन्दु केसीको टोलीले भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइतेको अवस्था बुझेको छ ।

सैनिक अस्पतालले घाइतेको अवस्था बुझ्ने र अस्पताल प्रशासनलाई आवश्यक परेमा चिकित्सक परिचालन गर्ने तयारी गरेको छ । त्यसका लागि महासेनानी डा. केसीको टोलीले भेरीमा पुगेर अस्पताल प्रशासकसँग छलफल गरेको छ ।

जाजरकोट र पश्चिम–रुकुममा गएको भूकम्पका घाइतेको उपचारका लागि डेडिकेटेड भेरी अस्पतालमा अहिले ३८ जनाको उपचार भइरहेको छ ।

एक जना गर्भवतीको पेटमै बच्चाको मृत्यु भएको छ । सबैजसो खतरामुक्त रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

भेरीमा ल्याइएका एक जनाको बाटोमै मृत्यु भएको थियो । एक जना घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उसलाई पनि भेरीमा ल्याउने तयारी गरिएको छ ।


भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका र राप्तीसोनारी गाउँपालिकाले स्वास्थ्यकर्मी पठाएका छन् । नेपालगञ्जले दश जना र राप्तीसोनारीले ५ जना नर्सिङ र प्यारामेडिक्सको टोली भेरीमा पठाएको छ ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) पवनजंग रायमाझीले अस्पतालमा चिकित्सकको कमी भएकाले पहल गरिरहेको बताए । उनले त्यसका लागि नेपाली सेना र पालिकाहरुसँग कुरा गरिरहेको जानकारी दिए ।

‘हामीलाई केही पालिकाले नर्सिङ र प्यारामेडिक्स पठाइदिनु भएको छ । चिकित्सकको आवश्यकता परेको छ । त्यसका लागि पहल गरिरहेका छौं, मेसु रायमाझीले भने ।

नेपाली सेनाको बज्रदल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठले भेरी अस्पताल प्रशासनले माग गरेमा केही दिनका लागि सैनिक अस्पतालबाट चिकित्सक पठाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरीमा भूकम्पपीडितका कुरुवालाई कम्बल र तन्ना वितरण

१९ कार्तिक २०८०, आईतवार १४:०८
नेपालगञ्ज : कसौधन वैश्य समाज बाँकेका पूर्ब अध्यक्ष तथा व्यवसायी नन्दलाल वैश्यले भेरी अस्पतालमा उपचार गराइरहेका घाइते र कुरुवालाई ३१ थान कम्बल र ३१ वटा तन्ना वितरण गरेका छन् । कम्बल र तन्ना वितरणका लागि वैश्यले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गरे । जाजरकोट र रुकुमपश्चिममा आएको भूकम्पमा […]