नेपालगञ्ज : शुक्रवार राती जाजरकोट र रुकुममा गएको भूकम्पबाट पीडित परिवारलाई राहत प्रदान गर्न नेकपा (माओवादी केन्द्र) कोहलपुर नगरसमितिले शनिबार बिहान एकसय ५० बोरा चामल सङ्कलन गरेको छ ।
माओवादी केन्द्र कोहलपुर नगरसमितिको बैठक बसी उक्त राहत सङ्कलन गरेको कोहलपुर नगरअध्यक्ष अबराज खड्काले जानकारी दिए । नगर समितिको बैठकले भुुकम्पपीडितका लागि राहत र उद्धार कार्यमा यथाशीघ्र लाग्न नगरका सबै वडालाई निर्देशन गरिएको र वडा समितिहरु तत्काल राहत सङ्कलनमा जुटिसकेको नगर अध्यक्ष खड्काले बताए ।
अध्यक्ष खड्काका अनुसार कोहलपुर नगरपालिका –३ मा कोहलपुर पार्टीका नगर सल्लाहकार पदम केसीको पहलमा ६० बोरा चाामल सङ्कलन भएको जानकारी दिए । नगर सल्लाहकार पदम केसीले ३० बोरा, कोेहलपुर ३ का सङ्गीता केसी अध्यक्ष रहेको दिदिबहिनी समुहले १० बोरा, राजेश भारतीले १० बोरा, इन्दिरा भाारतीले १० बोरा, देबी गौतमले ७ किलो दाल र शरण केसीले २ पेटी तेलसहित खाद्यान्न सङ्कलन भएको नगर अध्यक्ष खड्काले जानकारी दिए ।
भूकम्पबाट ठूलो मात्रामा धनजनको क्षति भएको सामाचार बाहिर आएपछि माओवादी केन्द्रले पार्टी पङ्तिलाई राहत तथा उद्धारमा लाग्न बिज्ञप्तिमार्फत अपिल गरेको छ । पार्टीले गरेको अपिलअनुसार कोहलपुर नगरको बैठक बसी राहत सङ्कलनमा जुट्न सबैलाई परिचालन गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।
सङ्कलन कार्य अझै जारी राखिने र सङ्कलन गरिएको राहत सामग्रीलाई सरोकारवाला निकायसँग समन्वय गरी एकमुष्ट राहत हस्तान्तरण गरिने नगर अध्यक्ष खड्काले बताए ।