बरघरको सहयोगले पालिकाको न्यायिक कार्य प्रभावकारी

सदरलाइन संवाददाता १७ कार्तिक २०८०, शुक्रबार १५:००
 

नेपालगञ्ज : थारू समुदायमा रहेका बरघरहरूको सहयोगले पालिकाको न्यायिक समितिलाई काम गर्न सहज भएको छ । सोही कारणले पालिकाको न्यायिक कार्य प्रभावकारी देखिएको छ ।

थारु समुदायको बाहुल्यता भएको बाँकेको बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले सामाजिक रुपमा थारु समुदायका अगुवा र निर्णायक मानिने बरघरको सहयोगले गाउँपालिकाको न्यायिक कार्य सहज र प्रभावकारी बन्दैगएको बताइन् ।

उनले बरघरको कुरा समाजले मान्ने भएकाले उहाँहरुको सहयोगले न्यायिक समितिको काममा ठूलो सहयोग पुगेको बताइन् । उपाध्यक्ष रोकायले भनिन्, ‘थारू समुदायमा रहनुभएका बरघरहरूले गर्दा हाम्रो पालिकामा रहेको न्यायिक समितिलाई काम गर्न सजिलो भएको छ ।

थारू समुदायमा हुने धेरै विवादहरू गाउँमै बरघरले हल गर्ने भएकाले समितिसम्म उजुरीहरू कमै मात्रामा आउँछन् ।’ आएका उजुरी सल्टाउन पनि बरघरको सहयोग पाउँदा सहज रुपमा सल्टिने गरेको रोकायको भनाइ छ ।


थारू समुदायबाट परेका उजुरीमा बरघरबाटै समस्या समाधान हुनेभएकाले न्यायिक समितिलाई काममा धेरै सहज भइरहेको गाउँपालिकाले जनाएको छ । सोही कारणले बैजनाथ गाउँपालिकामा बरघर ऐन लागू गर्ने तयारी भइरहेको उपाध्यक्ष रोकायले जानकारी दिइन् ।

उनले भनिन्, ‘पालिकामा बरघर ऐन लागू गर्न छलफल भइसकेको छ । बजेट पनि विनियोजन गरिएको छ, तर ऐन लागू हुन नसकेकाले छिट्टै बरघर ऐन लागू गर्नेछौँ ।’

बर्दियाको बारबर्दिया नगरपालिकाले मात्र यस क्षेत्रमा बरघर ऐन लागू गरेको छ । बारबर्दियाको अनुभवले पनि काममा सहज हुने जनाइएको छ । बैजनाथमा बरघर ऐन लागू गर्न थारू राष्ट्रिय आयोगले ‘बरघर ऐन तथा समावेशिता’ विषयमा एक कार्यक्रम समेत आयोजना गरिसकेको छ ।

सो कार्यक्रममा ‘बरघर ऐन तथा समावेशिता’ को विषयमा समुदायस्तरमा गहन रूपमा छलफल गरिएको थारू राष्ट्रिय आयोगका सदस्य सुबोधसिंह थारूले जानकारी दिए । उनले कार्यक्रममा स्थानीय जनप्रतिनिधि, थारू समुदायका अगुवा, बरघरलगायतको उल्लेख्य उपस्थिति रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दश वर्षपछि नेपाल टि–२० विश्वकपमा छनोट

१७ कार्तिक २०८०, शुक्रबार १५:००
नेपालगञ्ज : नेपाल टि–२० विश्वकपमा छनोट भएको छ । आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै विश्वकपका लागि स्थान सुरक्षित बनाएको हो । ८ विकेट गुमाएर यूएईले १ सय ३४ रन बनाएको थियो । आशिफ शेखले ६३ रन र कप्तान रोहित पौडेलले ३५ रन […]