नेपाली सेनाद्वारा ज्येष्ठ नागरिकलाई भोजन

सदरलाइन संवाददाता ८ कार्तिक २०८०, बुधबार १४:२४
 

नेपालगञ्ज : चाडपर्वको समयमा सबैजनाले आ–आफ्ना आफन्तहरुसँग बसेर रमाइलो गरेर पर्व मनाउने गर्दछन् । अझ दसैंमा त झनै टाढा टाढा रहेकाहरु आफन्त खोज्दै एकाठाउँमा भेला भएर एकआपसमा खुशी साटासाट गरेर विशेष रुपमा यो पर्व मनाउने गर्दछन् ।

तर कोही पनि आफ्ना नभएकाहरु पनि यो समाजमा रहेका छन् । आफ्ना भए पनि घरबार विहीन भएका वृद्धवृद्धाहरुलाई नेपाली सेनाले भोजन गराएको छ ।

बाँकेको कोहलपुर नगरपालिका ५ स्थित एनसिसीस्थित नीलसागर सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुले मङ्गलबार दसैंका दिनमा एकदिन भए पनि आफन्त भेटेको महसुुस गरेका छन् । दसैंका दिनमा एकदिन भए पनि भोजन गराएका हुन् ।

बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले आश्रित जेष्ठ नागरिकहरुलाई भोजन गराएको हो ।

चाडबार्डको अवसरमा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई एक्लोपनको महसुस नहोस् भन्नका लागि खानाको व्यवस्था गरिएको श्री अर्जुनवाण गणका गणपति एवम् नेपाली सेनाका प्रधान सेनानी अशोक खड्काले बताए ।

‘चाडपर्व भनेको आफ्ना आफ्न्तसँग मनाउने पर्व हो तर आश्रममा आफन्ति नभएकाहरुको बसाई हुन्छ र उहाँहरुलाई आफन्तको कमीको महसुस नहोस् भन्नका लागि हामीले बडा दसैंको दिन भोजन गराएर आफ्नोपनको अनुभूति गराएका मात्र हौं ।’ गणपति खड्काले भने ।

राझाँस्थित चारवाहीनी अड्डाका वाहिनिपति एवम् सहायक रथी प्रकाश थापाले निस्वार्थ भावमा मानव सेवामा समर्पित नीलसागर आश्रमलाई नेपाली सेनाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै निस्वार्थ भावमा मानव सेवामा समर्पित नीलसागर प्रति धन्यबाद ज्ञापन गरेका थिए ।


कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुबेदीले आश्रम सञ्चालन राज्यको दायित्व भएको बताउँदै राज्यले गर्नु पर्ने काम नीलसागर संस्थाले निस्वार्थ भावमा गरेको भन्दै उक्त संस्थालाई नगरपालिकाले सहयोग गर्ने बताइन् ।

‘जेष्ठ नागरिकको दायित्व राज्यको हो । तर पनि राज्य यसरी निरीह बनिरहँदा नीलसागर जस्ता संस्थाले हाम्रो नगरमा अलपत्र परेका जेष्ठनागरिकलाई आफ्नो संस्थामा राखेर संरक्षण गरेको छ ।’ उनले भनिन्, ‘निस्वार्थ भावमा सेवा गरिरहेको यस संस्थालाई नगरपालिकाको सहयोग रहनेछ ।’

उपप्रमुख सुबेदीले फजुल खर्च गरेर मनाईने जन्मदिन र वैबाहीक वर्ष गाँठबाट केही रकम छुट्टयाएर आश्रित जीवन बिताई रहनु भएका जेष्ठ नागरिकका निम्ति सेवा भावमा समर्पित नीलसागर आश्रमलाई सहयोग गर्न नगरबासीलाई आग्रह गरिन् ।

बाँकेमा केन्द्रिय कार्यालयको रुपमा स्थापना भएको नीलसागर आश्रमका शाखाहरु काठमाण्डौ, पोखरा, पाल्पा, सुर्खेत, बर्दिया, दैलेख, कोहलपुर र दाङ्ग गरेर आठ ओटा जिल्लामा सञ्चालित रहेका छन् ।

सोही शाखाअन्तर्गत बाँकेको कोहलपुर शाखामा रहेका २८ जना ज्येष्ठ नगरिकलाई नेपाली सेनाले बडा दसैंको दिन भोजन खुवाएको थियो । यसैबीच सोही गणले राप्तिसोनारी गाउँपालिका ५ स्थित बिनौनामा रहेको जय वागेश्वरी आश्रमका १२ जना बालबालिकालाई पनि भोजन गराएको थियो ।

उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीसँगै राप्तिसोनारी गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष सालिकराम डाँगीको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुधवार दुर्गा भवानीको मूर्ति नदीमा सेलाईंदै

८ कार्तिक २०८०, बुधबार १४:२४
नेपालगञ्ज : नवरात्रको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मूर्ति (प्रतिमा) बुधवार नदीमा सेलाईंदैछ । बाँके जिल्लाका शहर तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएको दुर्गा मूर्तिलाई राप्ती नदी, मानखोला र कर्णालीमा लगेर सेलाउने गरिन्छ । ट्रक, ट्राली लगायत विभिन्न सवारी साधनमा मूर्तिलाई राखेर लावा लस्करका साथ, बाजागाजासँगै बैण्ड बाजा बजाएर नाँचगान गर्दै […]