नेपालगञ्ज : केहीदिन यता बाँके लगायत तराईका जिल्लाहरुमा शीतलहर सहितको बाक्लो हुस्सु लागेका कारण जनजीवन अत्यन्तै कष्ठकर बन्दै गएको छ । बिहानैदेखि बाक्लो हुस्सुका कारण सवारी साधन चल्न पनि कठिन भएकोछ ।
बाक्लो हुस्सु लागेका कारण ‘भिजीबिलिटी’ कम हुँदा बिहानैदेखि बाँकेको नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ । बिहानैदेखिको हुस्सु तथा कुहिरोका कारण ५० मिटरमात्र भिजीबिलिटी हुँदा नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान ठप्प रहेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका ट्राफिक कन्ट्रोलर रिङ्की मल्लिकले बताईन ।
उनले हवाई उडानका लागि आवश्यक पर्ने भिजिबिलिटी नहुँदा विमानस्थलमा उडान हुन नसकेको जानकारी दिईन । ट्राफिक कन्ट्रोलर मल्लिकका अनुसार नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला, सङ्घीय राजधानी काठमाण्डौ, धनगढी र पोखराका लागि दैनिक करिब ५० भन्दा बढी उडान हुने गरेको छ ।


जहाज उडाउन एक हजार भिजीबिलिटी हुनुपर्ने र जहाज अवतरण गर्नका लागि एक हजार छ सय भिजीबिलिटी आवश्यक पर्दछ । नेपालगञ्ज विमानस्थलबाट हुने उडान अवरुद्ध हुँदा काठमाण्डौ र पहाडी जिल्लामा यात्रा गर्नुपर्ने यात्रीलाई समस्या भएको छ ।
बाक्लो हुस्सु लागेका कारण सडकमा चल्ने सवारी साधन दुर्घटना समेत बढ्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाक्लो हुस्सु लागेका कारण सडकमा हिड्नै पर्ने सवारी साधन गुडाउन र अत्यन्तै चनाखो भएर सवारी साधन चलाउन अनुरोध गरीएको छ ।