बाँकेका कुशबाडिया समुदायको पुर्ख्यौली पेशा संकटमा

सदरलाइन संवाददाता ८ कार्तिक २०८०, बुधबार १४:१७
 

नेपालगञ्ज : बाँकेमा बर्षौंदेखि ढुङ्गाको सिलौटा र डोरी बिक्री गरेर जीविकोपार्जन गर्दै आइरहेका कुशबाडिया समुदायको परम्परागत पेशा संकटमा परेको छ ।

जिल्लामा न्यून संख्यामा रहेको लोपोन्मुख र अल्पसंख्यक सो समुदायको पुर्ख्यौली पेशा प्रविधिको विकास र बिस्तारका कारण संकटमा परेको हो । कुशबाडिया समुदायले महिनौँ लगाएर निर्माण गरेका परम्परागत सामानहरू बिक्री हुन छाडेपछि उनीहरू निराश भएका छन् ।

बाँके जानकी गाउँपालिका ३ का मनोजकुमार कुशबाडियाले बजारमा पाइने आधुनिक सामानका कारण ढुङ्गाबाट बनाइने सिलौटा र सनपाटबाट बन्ने डोरी बिक्री गर्नै मुस्किल भएको बताए । उनले सोही कारणले आफुहरुको पुख्र्यौली पेशा संकटमा परेको बताए ।

मनोजका अनुसार कुशबाडियाहरु आफैँ ढुङ्गाको सिलौटा बनाउँछन् । डोरी पनि आफैँ निर्माण गर्दछन् । उनीहरूले परम्परागत रुपमा बनाउँदैआएका यी सामग्रीहरूले भने आजभोलि बजार पाउन छाडेका छन् ।

यस्तै, इन्द्रपुरका चुन्की कुशबाडियाले यसअघि सिलौटा मसला पिस्न तथा डोरी लह्रिया र ठेलागाडा चलाउनेहरूले किन्नेगरेको जनाउँदै गाउँ पुगेर सिलौटा बिक्री गर्नेगरेकोमा अहिले आधुनिक उपकरणको पर्याप्तताले आफ्ना उत्पादन खेर जान थालेपछि घरपरिवार चलाउनै मुस्किल भएको दुःखेसो गरे ।


उनका अनुसार अहिले सनपाटको डोरीको स्थान प्लास्टिकको डोरीले लिएको हुँदा व्यवसाय नचल्दा गरिबी र अभावमा बाँचिरहेका अल्पसंख्यक कुशबाडियाको दैनिकी कष्टकर बन्दै गइरहेको छ ।

कुशबाडियाहरुका अनुसार सिलौटाको ठाउँ गाउँघरमा खुलेका मिल र मिक्सचरले लिएको छ । प्लाष्टिकको डोरीका कारण सनपाटबाट बनाएका डोरी विक्री नभएर त्यसै खेर गइरहेको छ ।

जानकी ३ का फूला कुशबाडियाले अवस्था यस्तै रहने हो र राज्यले ध्यान नदिने हो भने केही समयपछि भोकै बस्नुपर्ने अवस्था आउन सक्ने बताए । उनले सरकारले आफुहरुको पेशालाई आधुनिक पेशामा रुपान्तरण गर्न सहयोग गर्नुपर्ने माग गरे ।

बाँकेको जानकी गाउँपालिका ३ इन्द्रपुरमा थोरै संख्यामा कुशबाडिया जातिको बसोबास छ । उनिहरुलाई सरकारले लोपोन्मुख र अल्पसंख्यक जाती घोषणा गरेको छ ।

सोही कारणले स्थानीय सरकारले जातिहरूको पुर्ख्यौली पेशा संरक्षणका लागि योजना बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए । उनले उनीहरूको परम्परागत पेशालाई स्तरोन्नति गर्दै बजारीकरणमा सहयोग गर्ने योजना बनाइएको बताए । (गोरखापत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली सेनाद्वारा ज्येष्ठ नागरिकलाई भोजन

८ कार्तिक २०८०, बुधबार १४:१७
नेपालगञ्ज : चाडपर्वको समयमा सबैजनाले आ–आफ्ना आफन्तहरुसँग बसेर रमाइलो गरेर पर्व मनाउने गर्दछन् । अझ दसैंमा त झनै टाढा टाढा रहेकाहरु आफन्त खोज्दै एकाठाउँमा भेला भएर एकआपसमा खुशी साटासाट गरेर विशेष रुपमा यो पर्व मनाउने गर्दछन् । तर कोही पनि आफ्ना नभएकाहरु पनि यो समाजमा रहेका छन् । आफ्ना भए […]