सुरक्षाका लागि नेपाल–भारतका सुरक्षाकर्मीबिच छलफल

सदरलाइन संवाददाता २९ आश्विन २०८०, सोमबार १३:५८
 

नेपालगञ्ज : चाडपर्वमा समयमा भारतबाट फर्किने नेपालीको सुरक्षालाई मध्यनजर गर्दै नेपाल र भारतका सीमा सुरक्षा अधिकारीबिच छलफल भएको छ ।

नेपाल–भारत मैत्री सङ्घ बाँकेको टोलीले सीमास्थित भारतीय सुरक्षा अधिकारीसँग छलफल गरी रुपैडियास्थित बसपार्क र रेल्वेमार्गमा नेपाली यात्रुको सुरक्षाका लागि प्रभावकारी रूपमा सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरेको हो ।

नेपाल–भारत मैत्री सङ्घका केन्द्रीय सदस्य अमर खड्काले भारतका विभिन्न सहरमा कामगरी चाडपर्व मनाउन घर फर्किनेक्रममा नेपालीमाथि सीमावर्ती क्षेत्रमा लुटपाट र चोरीका घटना नहोस् भनेर भारतीय सुरक्षा अधिकारीको ध्यानाकर्षण गराएको बताए ।

केन्द्रीय सदस्य खड्काले भने, ‘चाडबाडको समयमा चोरी र लुटपाटका घटना बढी हुने भएकाले भारतीय सुरक्षा निकायले नियन्त्रणका लागि गम्भीरतापूर्वक लिएको पाएका छौँ ।’


मैत्री शङ्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुष्मा शर्मा, केन्द्रीय सदस्य खड्का, जिल्ला अध्यक्ष प्रदीपकुमार गुप्तासहितको टोलीले भारतीय सीमा सशस्त्र बलका सहायक कमाण्डर वासुकि नन्दन, प्रहरी प्रमुख डा. उमाशङ्कर वैश्यलगायतका सुरक्षा अधिकारीसँग नेपालीको सुरक्षाका सवालमा महत्त्वपूर्ण छलफल गरेको टोलीले जनाएको छ ।

सो अवसरमा भारतीय सुरक्षा अधिकारीले नेपालीको सुरक्षाका लागि कुनै पनि कमजोरी हुन नदिन र विभिन्न स्थानमा थप सुरक्षाकर्मी परिचालन गरिने प्रतिबद्धता व्यक्त गरेको केन्द्रीय सदस्य खड्काले बताए ।

विजयादशमी नजिकिएसँगै भारतका विभिन्न सहरबाट फर्किने नेपालीको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नौबस्ता क्षेत्रीय कारागारमा बालबन्दी राख्न शुरु

२९ आश्विन २०८०, सोमबार १३:५८
नेपालगञ्ज : देशका विभिन्न बाल सुधारगृहमा बबाल मच्चाउने १८ वर्ष माथिका बालबन्दीहरुलाई बाँकेको बैजनाथ ३, गाभरस्थित नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारमा राख्न शुरु गरिएको छ । विभिन्न प्रकृतिका अपराध गरेर बाल सुधारगृहमा पुगेर १८ वर्ष नाघेका बालबन्दीले देशका विभिन्न ठाउँमा बबाल गरेपछि उनीहरूलाई नौबस्तास्थित क्षेत्रीय कारागारमा राख्न शुरु गरिएको हो […]