सोमवार विश्वकर्मा पूजा तथा वास्तु दिवस

सदरलाइन संवाददाता १ आश्विन २०८०, सोमबार १३:५९
 

नेपालगञ्ज : सोमवार कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा गरी मनाउँदैछन् ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ ।

बालुवा तथा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी भोलि नदीमा लगेर मूर्ति सेलाइन्छ ।

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए ।


प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ ।

विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा पनि मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै रचना गरेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

यही सम्झनामा नेपालका कालीगढहरूले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इन्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ ।

वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा मनाउने गर्छन् ।

पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्राय भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पनि अहिले वास्तु विद्याको महत्व बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाका बाढी पीडितलाई राहत उपलब्ध गराउने कार्य तीव्र

१ आश्विन २०८०, सोमबार १३:५९
नेपालगञ्ज : गत साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा बर्दिया जिल्लामा आएको बाढीबाट प्रभावित भएका जिल्लाका चारवटा पालिकाका पीडित परिवारलाई विभिन्न प्रकारको राहत उपलब्ध गराउने कार्य जारी छ । युके एड स्टारफन्डको सहयोग र प्लान नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालन गरिएको सानो अवधीको आपतकालिन बाढी […]

सम्बन्धित