पानीको उचित निकास नहुँदा कोहलपुर जलमग्न

सदरलाइन संवाददाता ४ भाद्र २०८०, सोमबार १५:४१
 

कोहलपुर (बाँके) : सोमवार बिहानबाट परेको अविरल वर्षाका कारण बाँकेको कोहलपुर नगरपालिकाको अधिकांश भागमा पानी भरिएर डुबान भएको छ । पानी भरिएर नगरपालिकाको वडा ११ गोलपार्क क्षेत्रलगायत वडा १, २, १४, ८, ९ र १० मा डुबान भएको नगरपालिकाले जनाएको छ ।

कोहलपुरको मुख्यबजार दसबिघा क्षेत्र र गोलपार्क क्षेत्रमा डुबान हुँदा स्थानीयलाई आवागमनमा सास्ती भएको छ । स्थानीय विकल भट्टराईका अनुसार कोहलपुर नगरपालिकाले निर्माण गरेका नाला तथा नालीको सफाइ नगरिएका कारण मुख्य बजारसहित अधिकांश टोलहरु डुबानमा परेको हो ।


उनले केही घण्टाको पानीमा नगर डुबानमा पर्नु भनेको निकै गम्भीर कुरा भएको जनाउँदै पानी निकासको तत्काल व्यवस्था मिलाउनुपर्ने बताए । डुडुवा खोला वरिपरिका बस्तीहरु पनि डुबानमा परेका छन् । कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले सोमवार बिहानैबाट नगरपालिकाका नगर प्रहरीहरु पानीको निकास खोल्न सक्रिय रहेको बताए ।

उनले डुबान भएका क्षेत्रहरुको निरीक्षण र अनुगमन गर्ने कार्य भइरहेको जनाउँदै जम्मा भएको पानी धेरै बेरसम्म नटिक्ने हुँदा ठूलो समस्या नहुने बताए । पानीको निकासका लागि नगरपालिकाले निरन्तर काम गर्दैआएको पनि नगरप्रमुख आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा इन्धन भण्डारण गृह निर्माण हुने

४ भाद्र २०८०, सोमबार १५:४१
सुर्खेत : नेपाल आयल निगमले कर्णाली प्रदेशको सुर्खेतमा इन्धन भण्डारण गृह निर्माण गर्ने भएको छ । कर्णाली प्रदेशमा इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन भण्डारण गृह निर्माण गर्न लागिएको हो । सुर्खेतमा डिजेल, पेट्रोलको भण्डारण गृह नभएकाले कर्णाली प्रदेशलाई लक्षित गरी भण्डारण गृह निर्माण गर्न लागिएको हो । निगमका प्रवक्ता मनोजकुमार […]