लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै बाँके

सदरलाइन संवाददाता १३ श्रावण २०८०, शनिबार १५:३९
 

नेपालगञ्ज : इलाका प्रहरी कार्यालय कोहलपुरले गत मंगलबार कोहलपुर नगरपालिका–११ बसपार्कस्थित कोहलपुर कटेज रेष्टुरेण्ट एण्ड लजको कोठा नम्बर १०६ बाट लागूऔषध अफिम ५ किलो तीनसय ६८ ग्रामसहित तिला गाउँपालिका–३ जुम्लाका ४१ वर्षीय हरिप्रसाद भट्टराई, सोही ठाउँका ३० वर्षीय देवीप्रसाद भट्टराई र ४० वर्षीय भवानीप्रसाद भट्टराईलाई नियन्त्रणमा लियो ।

गत असार २७ गते बाँके प्रहरी र लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्जको संयुक्त प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित जमुनाहा गाउँबाट भारतबाट नेपालतर्फ भारतीय मोटरसाइकलमा आउँदैगरेको अवस्थामा भारतीय नागरिक भारत रुपैडिहाका १९ वर्षीय जुनेद राई र सोही ठेगानाका १९ वर्षीय सलमान अलिलाई ४३ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

गत असार २६ गते कोहलपुर प्रहरीले नै कोहलपुर नगरपालिका–१ कौशिलानगरका २६ वर्षीय जीवन लामिछानेलाई बैजनाथ गाउँपालिका–४ नौलापुरस्थित लामिछानेको ससुराली घरको कोठाबाट २३ वटा प्लास्टिकको पुडियामा लुकाई राखेको एक ग्राम नौ सय ५० मिलिग्राम आगूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लियो ।

बाँकेमा पछिल्लो समय लागूऔषधको प्रयोग र कारोबार बढ्दैगएको यिनै घटनाबाट पनि अनुमान लगाउन सकिन्छ । भारतसँगको खुल्ला सिमानाका कारण र सीमामा चेकजाँचमा कडाइ नहुँदा नेपालका लागूऔषध प्रयोगकर्ता भारत र भारतका लागूऔषध प्रयोगकर्ता नेपालमा सजिलैसँग पुगी लागूऔषधको प्रयोग, ओसारपसार तथा कारोबार गर्ने गरेको पाइन्छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कले पनि पछिल्लो समय बाँकेमा लागूऔषधको कारोबार बढेको देखाउँछ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले गत आर्थिक वर्ष २०७९/८० मा लागूऔषधसम्बन्धि एक सय ५७ वटा मुद्दा दर्ता भएको बताए । एकसय ५७ मुद्दामा १९ महिला र दुईसय १७ पुरुष गरी दुई सय ३६ जनालाई पक्राउ गरिएको उनले बताउनुभयो ।

त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा लागूऔषधसम्बन्धि एक सय ३४ मुद्दामा १५ महिला र एक सय ९७ पुरुष गरी दुई सय बाह्र जनालाई पक्राउ गरिएको थियो । त्योभन्दा अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा एक सय २६ मुद्दामा ११ महिला र एक सय ८५ पुरुष गरी एक सय ९६ जनालाई लागूऔषध कारोबारसम्बन्धी आरोपमा पक्राउ गरिएको डिएसपी डाँगीले बताए ।

तीन वर्षको यो तथ्याङ्कमा क्रमशः मुद्दा पनि बढेको र पक्राउ पर्नेको सङ्ख्या पनि बढेको देखिन्छ । प्रहरीको यो तथ्याङ्कले जिल्लामा लागूऔषधको प्रयोग तथा कारोबारको अवस्था कस्तो छ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।


आर्थिक वर्ष २०७७/७८ मा ५७७ ग्राम ८३५ मिलिग्राम, २०७८/७९ मा ९५८ ग्राम ७३० मिलिग्राम र २०७९/८० मा ८८२ ग्राम २२ मिलिग्राम लागूऔषध ब्राउनसुगर बाँके प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा २० किलो ३० ग्राम चरेश, ३४ किलो ५७४ ग्राम अफिम, ६८ किलो ४३ ग्राम गाँजा, ३९ लिटर ४ सय मिलिमिटर कोरेक्स, एक हजार ३३० नाइट्राजेपाम ट्याब्लेट, एक हजार ७० ट्रामाडोल ट्याब्लेट प्रहरीले बरामद गरेको थियो ।

त्यसैगरी २०७८/७९ मा १४ किलो १५८ ग्राम चरेश, तीन किलो अफिम, २१५ किलो ४३० ग्राम गाँजा, आठ लिटर ४ सय मिलिमिटर कोरेक्स, चार हजार २५ नाइट्राजेपाम ट्याब्लेट, दुई हजार ४३० ट्रामाडोल ट्याब्लेट र २०७९/८० मा ६ किलो ८९५ ग्राम गाँजा, एक हजार ३२० नाइट्राजेपाम ट्याब्लेट बरामद गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

यो आर्थिक वर्षको सुरुवातमै पनि लागूऔषधसम्बन्धि कारोबार गर्नेलाई प्रहरीले आफ्नो पन्जामा पार्न शुरु गरिसकेको छ । जिल्लामा पछिल्लो समय बढ्दै गइरहेको लागूऔषधको कारोबारलाई न्यूनीकरण तथा नियन्त्रण गर्न प्रहरीले हरसम्भव कोसिस गरिरहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी डाँगीले बताए ।

जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत घरपरिवार, टोलछिमेक, समुदाय, विद्यालय लगायतका सार्वजनिकस्थलमा लागूऔषधसम्बन्धि जनचेतना फैलाउने कामहरू गरिरहेको प्रवक्ता डाँगीले बताए । जनचेतनाका साथसाथै तीव्र चेकजाँच गरी लागूऔषध प्रयोगकर्ता तथा कारोबारीलाई पक्राउगरी कानुनी दायरामा ल्याई मुद्दा अगाडि बढाइएको उनले बताए ।

“लागूऔषध न्यूनीकरण तथा नियन्त्रणका लागि आवश्यकताअनुसार नाकानाकामा कडा चेकजाँच गर्छौँ र गरिरहेका छौँ, साथै जिल्लामा पहिलो पटक लागूपदार्थ सेवन (लापसे) चेकजाँच पनि शुरु गरेका छौँ, प्रहरीको मात्र एकल प्रयासले लागूऔषध नियन्त्रण गर्न गाह्रो हुन्छ, समुदायले पनि प्रहरीलाई साथ र सहयोग गर्नुपर्छ” डिएसपी डाँगीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्तमान सरकार भ्रष्ट्राचार लुकाउने प्रयास गर्दैछ : अध्यक्ष ओली

१३ श्रावण २०८०, शनिबार १५:३९
नेपालगञ्ज : नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकार भ्रष्ट्राचार लुकाउने प्रयास गरिरहेको बताएका छन् । नेपालगञ्जमा शनिवारदेखि शुरु भएको लुम्बिनी प्रदेशका सबै तहका जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अहिलको सरकार सुशासनको पक्षमा नरहेको एमाले अध्यक्ष ओलीले बताए । अहिलेको […]