महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन स्वरुप मासिक दुई हजार

सदरलाइन संवाददाता ८ श्रावण २०८०, सोमबार १५:०३
 

जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई प्रोत्साहन गर्न मासिक दुई हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले गाउँपालिकाका–६ वटै वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन रकम उपलब्ध गराउन चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा १९ लाख ४४ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने, ‘मधेसी र मुस्लिम समुदायको बाहुल्यता रहेको गाउँपालिकामा मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा दिनरात गरेको मेहनतलाई गाउँपालिकाका तर्फबाट थोरै भएपनि समेट्ने प्रयास गरिएको छ ।’ जानकी गाउँपालिकाका वडा १ देखि ६ सम्म ८१ जना महिला स्वास्थ्य स्वयम् सेविका कार्यरत रहेकी छन् ।

अब महिला स्वास्थ्य स्वयंसेविकाले सङ्घीय सरकारबाट वार्षिक पोशाक खर्चबापत १० हजार, मासिक एक हजार र गाउँपालिकाबाट मासिक थप दुई हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । जानकी गाउँपालिकाले चालु आवका लागि महिला स्वास्थ्य स्वयंसेविका तथा आमा समूह कार्यक्रमका लागि ३५ लाख १३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।


महिला स्वयंसेविका भने गाउँपालिकाले मासिक दुई हजार रुपैयाँ दिने निर्णय गरेकोमा स्वागत गर्दै यतिले मात्रै पर्याप्त नहुने गुनासो गरेका छन् । सोमबार गाउँपालिका पुगेर महिला स्वास्थ्य स्वयंसेविकाले दिनरात नभनी स्वास्थ्य सेवामा खटिएका आफूहरूलाई घरखर्च चलाउन पुग्नेगरी बजेटको व्यवस्था गरिदिन माग गरेको बताएका छन् ।

वडा नम्बर २ बेलभारमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका रिमा काँदुले आफूहरूले ग्रामीण बस्तीमा गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य हेरचाह तथा अन्य काममा दिनरात नभनी खटिने भएकाले पालिकाबाट थप प्रोत्साहन माग गरिएको बताइन् ।

गाउँपालिकाका अध्यक्ष छब्बन खाँले महिला स्वास्थ्य स्वयंसेविकाको कामको मूल्याङ्कन आधारमा हाललाई मासिक दुई हजार थप गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा ‘लम्पी स्किन’ विरुद्धको खोप दिन थालियो

८ श्रावण २०८०, सोमबार १५:०३
बर्दिया : गाईवस्तुमा लाग्ने रोग ‘लम्पी स्किन’ (छालामा गिर्खा आउने रोग) विरुद्ध खोप लगाउन थालिएको छ । एकीकृत तथा पशुपक्षी विकास कार्यालय, बर्दिया करिब दुई सातायता जिल्लामा करिब ५ सय गाईवस्तु लम्पी स्किन रोगबाट प्रभावित भएका छन् । एलएसडी नाम गरेको भ्याक्सिन जिल्लाभर गाईवस्तुमा खोप लगाउन शुरु गरिएको एकीकृत तथा […]