बर्दिया : गाईवस्तुमा लाग्ने रोग ‘लम्पी स्किन’ (छालामा गिर्खा आउने रोग) विरुद्ध खोप लगाउन थालिएको छ । एकीकृत तथा पशुपक्षी विकास कार्यालय, बर्दिया करिब दुई सातायता जिल्लामा करिब ५ सय गाईवस्तु लम्पी स्किन रोगबाट प्रभावित भएका छन् ।
एलएसडी नाम गरेको भ्याक्सिन जिल्लाभर गाईवस्तुमा खोप लगाउन शुरु गरिएको एकीकृत तथा पशुपक्षी विकास कार्यालय, बर्दियाका प्रमुख डाक्टर अनिल शर्माले बताए । जिल्लामा ४ हजार खोप लगाइने भएको छ,’ उनले भने, ‘तीन सातायता पाँच गाईवस्तु यस रोगबाट मृत्यु भइसकेको छ ।’
स्थानीयले भने लम्पी स्किनबाट दुई दर्जन बढी गाईवस्तुको मृत्यु भइसकेको बताए । लम्पी स्किनबाट सबैभन्दा धेरै मधुवन, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा गाईवस्तु प्रभावित भएका छन् । यस पालिकामा २ सय ५० बढी गाईवस्तुलाई लम्पी स्किन रोग लागेको छ ।
नेपालमा यो रोग २०७७ सालमा सुनसरी जिल्लामा देखा परेको थियो । यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने, र्याल सिँगान बग्ने जस्ता लक्षण देखिने पशु चिकित्सक बताउँछन् । यो महामारीका रुपमा फैलिँदै जाने सम्भावना भएकोले बेलैमा उपचार हुन जरुरी रहेको स्थानीय पशुपालक बताउँछन् ।