सञ्चालन गर्न नसक्दा जनक शिक्षाको खजुरास्थित छापाखाना अलपत्र

सदरलाइन संवाददाता २० चैत्र २०८०, मंगलवार १६:५१
 

खजुरा (बाँके) : बाँकेको खजुरामा रहको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखाना सञ्चालनमा आउन नसक्दा लामो समयदेखि अलपत्र परेको छ ।

कर्णालीका विभिन्न जिल्लासँगै दुर्गममा पाठ्यपुस्तक वितरण गर्ने उद्देश्यले सरकारले २०६२ सालमा सो छापाखाना स्थापना गरे पनि सञ्चालन हुन नसक्दा छापाखानाका भौतिक पूर्वाधार खण्डहरमा परिणत हुन थालेका छन् ।

करिब चार बिघा क्षेत्रफलमा फैलिएको जनक शिक्षाको जग्गामा सरकारले २०६२ सालमा छापाखाना भवन र त्यसलगत्तै थप दुईवटा भवन निर्माण गरेको थियो । छापाखाना र गोदाम निर्माण भवन अहिले प्रयोगविहीन अवस्थामा जीर्ण बन्दै गएका छन् । छापाखाना सञ्चालनमा नआउँदा हरेक वर्ष शैक्षिक सत्रमा पाठ्यपुस्तक खपत गर्न कठिनाइ भइरहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड नेपालगञ्जका प्रमुख होमराज ढुङ्गेलले बताउछन् ।

उनले सरकारबाट बजेट पाए खजुरामा रहेको छापाखाना चलाउन सकिने बताए । ‘खजुरामा छापाखाना चलाउन सकिए लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका डिपोमा कम खर्च र समयमै पाठ्यपुस्तक ढुवानी गर्न सकिन्छ’–उनले भने ।


उनका अनुसार छापाखाना सञ्चालनका लागि विद्युतलगायत सबै पूर्वाधार तयार भए पनि केन्द्रीय योजना नबनेका कारण सञ्चालन हुन सकेको छैन । केन्द्रको नेपालगञ्ज कार्यालयले बाँके, बर्दिया, दाङ, सल्यान, पूर्वी रुकुम, प्यूठान, हुम्ला र डोल्पा गरी आठ जिल्लामा पाठ्यपुस्तक पठाउँदै आएको छ । खजुराको छापाखाना सञ्चालनमा आए लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आवश्यक पर्ने पुस्तक यहीँबाट छपाइ गरी पठाउन सकिन्छ ।

छापाखाना सञ्चालनको लागि फोर–कलर मेसिन खरिद, पर्खाल निर्माणलगायत पूर्वाधार निर्माण गर्न करिब १० करोड बजेट आवश्यक पर्ने उनको भनाइ छ । खजुरास्थित छापाखाना तत्काल सञ्चालनमा ल्याए पाठ्यपुस्तक अभाव समस्या समाधान गर्न सकिने उनले बताए ।

खजुराबासीले पटक–पटक जनक शिक्षा सामग्री केन्द्रको छापाखाना सञ्चालनको माग गर्दै आएका छन् । छापाखाना सञ्चालन हुँदा एक सयभन्दा बढीलाई रोजगारी दिनसक्ने क्षमता छ । विगतमा छापाखाना सञ्चालनको लागि पटक–पटक माग गरिएको खजुरा गाउँपालिकाका पूर्व अध्यक्ष किस्मतकुमार कक्षपति बताउछन् । कोभिडको बेलामा सो परिसर आईशोलेशन र अस्थायी अस्पतालको रुपमा गउँपालिकाले सञ्चालनमा ल्याएको उनले सम्झिए ।

उनले भने–‘विकेन्द्रिकरणको सिद्धान्तलाई आत्मसाथ गर्न सके दुई महिनाभित्र छापाखाना सञ्चालन गर्न सकिन्छ ।’ काठमाडौँमा छापेका पाठ्यपुस्तक हरेक वर्ष लाखौँ रकम खर्चेर नेपालगञ्ज ल्याइ बाँकेसहित बर्दिया, दाङ, सल्यान, प्यूठान, पूर्वीरुकुम, हुम्ला, डोल्पालगायत जिल्लामा पाठ्यपुस्तक वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल–भारत सुरक्षा अधिकारीको समन्वय बैठक

२० चैत्र २०८०, मंगलवार १६:५१
नेपालगञ्ज : सीमा क्षेत्रका समस्या तथा अपराधिक गतिविधि नियन्त्रणका लागि नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको समन्वय बैठक भारतमा सम्पन्न भएको छ । भारतमा हुन लागेको लोकसभाको निर्वाचनलाई लक्षित गरेर सीमा नाकामा विभिन्न सुरक्षा रणनीति र योजना बनाउन समन्वय बैठक आयोजना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । […]