तीन वर्षदेखि नेपालगञ्ज अध्यागमन कार्यालयको काम ठप्प

सदरलाइन संवाददाता ६ श्रावण २०८०, शनिबार १५:०६
 

नेपालगञ्ज : सीमावर्ती रुपईडिहामा रहेको भारतीय अध्यागमन कार्यालयले सेवा प्रवाह बन्द गरेपछि नेपालगञ्ज नाका भएर हुने पर्यटकहरूको आवागमन बन्द भएको छ ।

करिब तीन वर्षदेखि अध्यागमन कार्यालय नेपालगञ्जका कर्मचारीले नाका प्रयोग गरेर ओहोरदोहोर गर्न खोज्नेहरूलाई सम्झाई बुझाई गराई अन्य नाकाको प्रयोग गर्न सुझाव दिने गरेका छन् । अध्यागमन कार्यालय नेपालगञ्जका वरिष्ठ अध्यागमन सहायक कृष्णा रानाले पहिलो पटक कोभिड सङ्क्रमण बढेपछि सीमा नाका बन्द भएलगत्तै बन्द भएको भारतीय अध्यागमन कार्यालयले अहिलेसम्म सेवा दिन नसकेको बताए ।

रानाले भने, ‘विदेशी पर्यटक धेरै जना आउनुहुन्छ, तर भारततर्फ काम नहुने भएकाले सुनवल लगायतका अन्य नाका जान सुझाव दिने गरेका छौँ । ’ हिउँदको समयमा धेरै विदेशी पर्यटकहरू नेपालगञ्ज नाका भएर आउने गरेको कार्यालयले जनाएको छ ।


हाल अध्यागमन कार्यालयले भारतीय पक्षसँग समन्वय गरी तेस्रो देशबाट फर्केका भारतीयलाई प्रस्थान तथा दिल्ली हुँदै अन्य देशबाट फर्केका नेपालीलाई आगमन स्वीकृति दिने गरेको छ ।

आगमन र प्रस्थान स्वीकृतिका लागि भारतीय पक्षसँग बारम्बार आग्रह गर्दा पनि माथिको आदेश भन्दै सबै प्रकारको सेवा प्रवाह रोकेको अध्यागमन कार्यालयले जनाएको छ । भारतीय अध्यागमनले सेवा रोकेपछि नेपालगञ्ज कार्यालयको सेवा करिब ठप्प भएको हो ।

आर्थिक वर्ष २०७९।८० मा विदेशबाट नेपाल हुँदै भारत प्रवेश गर्न आएका १७ जना भारतीय नागरिकलाई अनुमति दिइएको छ । उनीहरू मध्ये अधिकांश विदेशबाट घर फर्किनुअघि पशुपतिनाथको दर्शन गरी घर फर्किएको अध्यागमन कार्यालयले जनाएको छ । यसै गरी ३ जना नेपालीलाई नेपालगञ्ज प्रवेश अनुमति दिइएको छ । उनीहरू तेस्रो देशबाट भारत हुँदै नेपाल प्रवेश गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा खडेरीले धान सुक्यो, किसान चिन्तित्

६ श्रावण २०८०, शनिबार १५:०६
नेपालगञ्ज : बाँकेमा पर्याप्त वर्षा नहुँदा खेतमा रोपेको धान सुक्न थालेपछि किसान चिन्तित भएका छन् । “मोटरबाट पानी तानेर जसोतसो रोपेको धान पानी नपरेपछि सुक्दै गएको छ, अझै केही दिन पानी नपरे धान बचाउन गाह्रो हुनेछ”, जानकी गाउँपालिका–१ जोगागाउँकी किसान सरिता जोशीले भनिन, “वर्षभरी खाने धान सुक्दै जाँदा मनमा चिन्ता […]