बाँकेमा खडेरीले धान सुक्यो, किसान चिन्तित्

सदरलाइन संवाददाता ६ श्रावण २०८०, शनिबार १५:२०
 

नेपालगञ्ज : बाँकेमा पर्याप्त वर्षा नहुँदा खेतमा रोपेको धान सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।

“मोटरबाट पानी तानेर जसोतसो रोपेको धान पानी नपरेपछि सुक्दै गएको छ, अझै केही दिन पानी नपरे धान बचाउन गाह्रो हुनेछ”, जानकी गाउँपालिका–१ जोगागाउँकी किसान सरिता जोशीले भनिन, “वर्षभरी खाने धान सुक्दै जाँदा मनमा चिन्ता बढ्दै गएको छ ।”

जानकी–१ की महिला स्वास्थ्य स्वयम्सेविकासमेत रहेकी जोशीले खडेरीले गाउँका किसानको रोपेको धान खेतमै सुकेको र रोप्ने तयारी भएको बीउ ब्याडमै सुक्न थालेको बताइन् ।

पानीको अभावमा धान रोपेको खेत फाट्दै जाँदा किसान चिन्तित भएका छन् । बाँकेमा दुई सातादेखि पानी पर्न सकेको छैन । खडेरीले बाँकेको कृषिमा नराम्रो असर पर्दै गएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख शकिल अहमदले जानकारी दिए ।


उनले यसपटक पर्याप्त वर्षा नभएकोले बाँकेमा अहिलेसम्म सबैतिर रोपाईं हुन नसकेको बताए । उनका अनुसार बाँकेमा हालसम्म ७० प्रतिशत रोपाईं भएको छ । अधिकांश सिक्टा सिँचाइको नहर भएको ठाउँ वरिपरि र कृषि ज्ञान केन्द्रको अनुदानबाट सिँचाइ भएको क्षेत्रमा मात्रै रोपाईं गरिएको छ ।

हालसम्म सबैभन्दा बढी बैजनाथ, डुडुवा, खजुरा र राप्तीसोनारी गाउँपालिकामा रोपाईं भएको तथा सबैभन्दा कम नरैनापुर गाउँपालिकामा रोपाईं भएको छ । बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा धान खेती हुने गर्दछ । अधिकांश ठाउँमा आकाशे पानीकै भर पर्नुपर्ने भएकाले धानखेती समयमा हुनसकेको छैन ।

पछिल्ला वर्ष बाँकेका किसान समयमा पानी नपर्दा उत्पादन घट्ने, पानी परेर समयमै रोपे पनि पछि बाढीले क्षति पुर्याउने, मल अभाव लगायतका समस्यामा पर्दै आएको अखिल नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताए ।

“सिक्टा सिँचाइ आयोजनाले पश्चिमी र पूर्वी मूल नहरमा पानी छाडेकाले कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा र राप्ती सोनारी गाउँपालिकाका केही भेगका किसानले खेतमा सिँचाइ गर्न पाएका छन”, केसीले भने, “सिक्टा नहर पूर्णरुपमा सञ्चालन नभएका कारण अधिकांश किसान आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रचना श्रेष्ठ महिला सदस्यमा मनोनित

६ श्रावण २०८०, शनिबार १५:२०
नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघकी पूर्व उपमहासचिव रचना श्रेष्ठ महिला उद्यमी बिकास समितिको सदस्यमा मनोनित भएकी छन् । पूर्व उपमहासचिव श्रेष्ठलाई नेपाल उद्योग वाण्ज्यि महासंघले हालै गठन गरेको महिला उद्यमी बिकास समितिको सदस्यमा मनोनित गरेको हो । महासंघले महासंघकी कार्यकारिणी सदस्य कमला श्रेष्ठको सभापतित्वमा उक्त समिति गठन गरेको हो […]

सम्बन्धित