बाँकेमा गाँजा खेती नष्ट गर्दै प्रहरी

सदरलाइन संवाददाता ५ श्रावण २०८०, शुक्रबार १४:५०
 

बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ झिगौला गाउँस्थित मानखोला नदी किनारामा रहेको गाँजाका बोटहरु प्रहरी र स्थानीयवासीको पहलमा नष्ट गरिएको छ । प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा केहि दिनअघि उक्त गाँजा नष्ट गरिएको रनियापुर प्रहरी चौकीले जानकारी दिएको छ ।

विगत लामो समयदेखि त्यहाँ आफैं उम्रिएका गाँजा लागूऔषध दुर्व्यसनको कुलतमा लागेकाले सेवन गर्दै आइरहेको स्थानीयले सूचना दिएपछि उक्त स्थानमा आफै उम्रिएका करिब ३ सय गाँजाका बोट प्रहरी र स्थानीय मिलेर नष्ट गरिएको रनियापुर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक लखनलाल चौधरीले जानकारी दिए । उनले गाँजाको झाडीमा बाहिरबाट दुर्व्यसनीहरु आई मादक पदार्थ सेवन गर्ने, त्यही गाँजाको प्रयोग गर्ने तथा होहल्ला गर्ने थलो बनेको भन्ने थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेको बताए ।


“स्वस्फूर्त रुपमा गाँजाका बोटहरु उम्रिएर झाडी बनेको रहेछ, युवाहरु त्यहाँ पुगेर गाँजाको सेवन गर्ने, विस्तारै कुलतमा फस्ने सम्भावना रहन्थ्यो र समाजमा उच्छृङ्खल गतिविधि हुने र विकृति फैलिन सक्ने सम्भावना हुन सक्थ्यो,” चौधरीले भने । गाँजाका बोट नष्ट गरिएिपछि उक्त स्थान अहिले खुल्ला र सफा देखिएको उनले बताए ।

समाजमा विकृति ल्याउनेमध्ये अधिकांश लागूऔषध प्रयोगकर्ता रहेको भन्दै उनले लागूऔषध नियन्त्रण तथा उन्मूलन गर्नका लागि प्रहरी र स्थानीय सँगसँगै मिलेर अगाडि बढिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको नरैनापुर गाँउपालिकाबाटै श्रम स्वीकृति

५ श्रावण २०८०, शुक्रबार १४:५०
नरैनापुर (बाँके) : बाँकेका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया शुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था शुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा शुरु भएको छ । श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी […]