नेपालगञ्ज : नागरिकता सम्बन्धी नयाँ ऐन अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा धेरै नागरिकता वितरण गरिएको छ । जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई धमाधम नागरिकता वितरण भइरहँदा लुम्बिनी प्रदेशका तीन वटा जिल्लामा भने अहिलेसम्म कसैले पनि नागरिकता लिएका छैनन् ।
नयाँ ऐन अनुसार असार १० गतेबाट नागरिकता वितरण थालिएको हो । यो प्रावधान अनुसार सबैभन्दा बढी रुपन्देही जिल्लामा नागरिकता वितरण भएको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार रुपन्देहीमा हालसम्म एक हजार ८२५ जनाले जन्मसिद्धको सन्तानका आधारमा नागरिकता लिएका छन् ।
रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय बुटवल र इलाका प्रशासन कार्यालय मझगाँवाबाट नागरिकता दिने काम भइरहेको छ । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये रुकुम पूर्व, प्युठान र रोल्पा जिल्लामा जन्मसिद्धका सन्तानका आधारमा कसैले पनि नागरिकता लिएका छैनन् ।
रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरले नयाँ प्रावधान अनुसार कसैलाई पनि नागरिकता प्रदान नगरिएको बताए । उनले जन्मसिद्धका सन्तानका आधारमा नागरिकता लिन दुई जना आएपनि प्रक्रिया नपुगेका कारण उनीहरुलाई प्रक्रिया पुर्याएर आउन आग्रह गरिएको बताए ।
यस्तै, प्युठान जिल्लामा अहिलेसम्म कसैले पनि नयाँ प्रावधान अनुसार नागरिकता लिन नआएको प्रशासकीय अधिकृत मेघराज सैनीले बताए । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले पनि जिल्लामा अहिलेसम्म नयाँ प्रावधानमा टेकेर नागरिकता लिन कोही नआएको बताए ।
बर्दिया जिल्लामा एक हजार २०८ जनाले जन्मसिद्ध नेपाली नागरिकका सन्तानका आधारमा नागरिकता लिएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले जानकारी दिए ।
बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माका अनुसार अहिलेसम्म एक हजार ११४ जनाले जन्मसिद्धका सन्तानका आधारमा नागरिकता लिएका छन् ।
पश्चिम नवलपरासी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा अनुसार जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय सेमरीबाट गरी जम्मा एक हजार ५५ जनाले जन्मसिद्धका सन्तानका आधारमा नेपाली नागरिकता पाएका छन् ।
कपिलवस्तु जिल्लाको जिल्ला प्रशासन कार्यालय बाहेक चन्द्रोटा र बाणगंगाबाट हालसम्म ७७३ जनाले त्यसरी नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।
यस्तै दाङ जिल्लामा जम्मा ३६ जनाले जन्मसिद्धको सन्तानका आधारमा नयाँ ऐनअनुसार नागरिकता लिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले पाल्पामा अहिलेसम्म तीन जनाले त्यसरी नागरिकता लिएको बताए ।
यस्तै, गुल्मीमा चार र अर्घाखाँचीमा एक जनाले जन्मसिद्धको सन्तानका आधारमा नागरिकता लिएका छन् ।