कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाले हरित शहरका लागि बुधवारदेखि वृक्षारोपण अभियान शुरु गरेको छ । कोहलपुर नगरपालिका हाताभित्रबाट वृक्षारोपण अभियान शुरु भएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । नगर प्रमुख पूर्णप्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले एकैसाथ वृक्षारोपण गरेर अभियानको सुरुवात गरेका छन् ।
कोहलपुर नगरपालिकालाई हरित नगर बनाउने योजना अनुसार अभियान सुरु भएको नगर प्रमुख आचार्यले बताए । उनले कोहलपुर सहरलाई हरित सहर बनाउने नगरपालिकाको अभियानमा सबै नगरबासीलाई जोडिन पनि आह्वान गरे । नगर उपप्रमुख सुवेदीले कोहलपुरलाई वातावरणमैत्री नगर बनाउन पनि वृक्षारोपण अत्यन्तै जरुरी रहेको बताइन् । उनले जलवायु परिवर्तनबाट उत्पन्न समस्या न्यूनीकरणका लागि बोटबिरुवाको संरक्षण आवश्यक रहेकाले हरेक नगरबासीले रोपिएका बिरुवाको संरक्षण गर्नुपर्ने बताए ।
कोहलपुर नगरपालिकाले यो सिजनमा १ हजार ६० कोनोकार्पस प्रजातिको बिरुवा रोप्ने तयारी गरेको छ । राजमार्गको बीच खण्डमा, नगर भवन परिसर, निर्माणाधीन नगर कार्यपालिकाको परिसर र बजार क्षेत्रमा कोनोकार्पस बिरुवा रोपिने नगर प्रहरी प्रमुख थापाले जानकारी दिए । यस्तै नगरपालिकाले नगरबासीलाई आफ्नो घर अगाडि छ्त्तीवन, करभिर, बेगनबेली, समि, कपुर, मिनी चमेली, गुलाचिन, बोटल ब्रस, टिकुमा लगायतका बिरुवा रोप्न आग्रह गरेको छ ।