बाँकेमा अहिलेसम्म २५ प्रतिशत मात्र रोपाईं

सदरलाइन संवाददाता २० असार २०८०, बुधबार १५:०३
 

नेपालगञ्ज : बाँकेमा हालसम्म २५ प्रतिशत मात्रै रोपाईं भएको छ । कृषि ज्ञान केन्द्र, नेपालगञ्जका अनुसार हालसम्म पनि राम्रो वर्षा नभएकोले अपेक्षित रोपाईं हुन नसकेको हो ।

कृषि ज्ञान केन्द्र, नेपालगञ्जका प्रमुख शकिल अहमदले यसपटक हालसम्म पनि आवश्यक पर्ने वर्षा नभएकोले सबैतिर रोपाईं हुन नसकेको बताए । उनका अनुसार हालसम्म भएको २५ प्रतिशत रोपाईं पनि अधिकांश सिक्टा सिँचाइको नहर भएको ठाउँ वरिपरि र कृषि ज्ञान केन्द्रको अनुदानबाट सिँचाइ भएको क्षेत्रमा नै गरिएको छ ।

प्रमुख अहमदले हालसम्म सबैभन्दा बढी बैजनाथ, डुडुवा, खजुरा र राप्तीसोनारी गाउँपालिकामा रोपाईं भएको र सबैभन्दा कम नरैनापुर गाउँपालिकामा रोपाईं भएको जानकारी आएको बताए ।


कृषि ज्ञान केन्द्रका अनुसार विगतका वर्षहरु झै यो वर्ष पनि बाँकेमा ढिलोगरी धान रोपाईं शुरु भएको हो । असार १५ गते अघिसम्म बाँकेमा पानी परेको थिएन । धेरै किसानले धानको बीउ (ब्याड) राख्न पाएका थिएनन् । सिँचाइ सुविधा भएको ठाउँमा मात्र बीउ राखिएको थियो । कतिपय किसानको बीउ अझै रोप्ने बेला नै भएको छैन । अलि पहिला बीउ राखेका र सिँचाइको पहुँचमा रहेका किसानले यतिबेला रोपाईं गरिरहेका छन् ।

बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती हुने गर्दछ । अधिकांश ठाउँमा आकाशे पानीकै भर पर्नुपर्ने भएकाले धानखेती समयमा हुन सकेको छैन । धानमा आत्मनिर्भर रहेको बाँकेमा समयमा पानी नपर्दा उत्पादन घट्ने, पानी परेर समयमै रोपेपनि पछि बाढीले क्षति पुर्याउने गर्दा किसानहरु समस्यामा पर्ने गरेका छन् ।

ढिलो गरी रोपाईं हुने हुँदा यस पटक पनि उत्पादनमा प्रभाव पर्ने किसानले जनाएका छन् । बाँके डुडुवा ५ का किसान राजितराम मौर्यले कहिले पानी नपरेर उत्पादन घट्ने गरेको र कहिले बढी पानी परेर बाढी र डुबानबाट क्षति भै उत्पादन घट्ने गरेको गुनासो गरे । उनले समयमा मलखाद नपाउँदा पनि उत्पादनमा प्रभाव पर्ने गरेको जनाउँदै मलखादका लागि हरेक वर्ष सास्ती भोग्नुपरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, दुईजना गम्भीर घाइते

२० असार २०८०, बुधबार १५:०३
सल्यान : सल्यानमा भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भिर घाईते छन् । जिल्लाको बागचौर नगरपालिका १० पिपलनेटाका अन्दाजी ५० वर्षीय लाल बहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधबार बिहान बागचौर नगरपालिका २ थारमारे बजारबाट वडा न १ ठिन्वाङ […]