जनसरोकारका विषयमा बाँके प्रशासनलाई कांग्रेसको ज्ञापनपत्र

सदरलाइन संवाददाता ८ असार २०८०, शुक्रबार १५:५५
 

नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले जनसरोकारका विषयहरुमा जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराएको छ । जनसरोकारका सवालहरु समेटेर कांग्रेस बाँकेले प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई आज ज्ञापनपत्र बुझाएको हो ।

पार्टीका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो । मल र बीउको अभाव, चर्को महंगी, कालोबजारी, असारे विकास, विपत पूर्व तयारी, अनियमित विद्युत लगायतका विषयहरु समेटेर ज्ञापनपत्र बुझाइएको कार्यबहाक सभापति अधिकारीले बताए ।

ज्ञापनपत्रमा किसानलाई समयमै मल र बीउ उपलब्ध गराउनुपर्ने, विपत (बाढीपहिरो) नियन्त्रण गर्न प्रभावकारी पूर्व तयारी गर्नुपर्ने, देश चरम आर्थिक मन्दीको चपेटामा गुज्रिरहेको समयमा उपभोग्य बस्तुको अत्याधिक मूल्य बृद्धि भई आफ्नो दैनिक जीवनयापनमा समेत कठिनाई भइरहेको हुँदा मूल्य नियन्त्रणका साथै कालोबजारी नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन गर्नुपर्ने, राज्यका विभिन्न निकायबाट हुने विकास निर्माणका कार्यहरु असारे विकासका नाममा गुणस्तरहिन हुने हुँदा प्रभावकारी अनुगमनका साथै गुणस्तर परीक्षण गर्नुपर्ने र अनियमित विद्युतका कारण जनताको दैनिकीमा समेत प्रभाव परिरहेको हुँदा नियमित विद्युत उपलब्ध गराउन तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बुँदाहरु समेटिएका छन् ।


“हामी जनताका समस्यामा आँखा चिम्लेर कदापि बस्न सक्दैनौं, त्यसैले जनसरोकारका सवालहरु लिएर प्रशासनसमक्ष आएका छौं, जनताका समस्यामा राज्य र राज्यका निकायहरु गम्भीर बन्नुपर्दछ,“ ज्ञापनपत्र बुझाएपछि कार्यबहाक सभापति अधिकारीले भने–“जनताका सुखदुःख, पीरमर्का, दैनिक समस्या र विषम परिस्थितिहरुमा हामी जनतासंग संगसंगै छौं ।“

प्रमुख जिल्ला अधिकारी आचार्यले कांग्रेसले बस्तुपरक र समयसान्दर्भिक सवालहरुको उठान गरेको भन्दै समाधानार्थ उचित पहल र अग्रसरता लिने बताए । उनले यी समस्याहरुमा सम्बन्धित पक्षसंग समन्वय गरी समाधानका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गरे ।

ज्ञापनपत्र बुझाउन उपसभापति कृष्णबहादुर कार्की, सहसचिव रेणुसिंह ठाकुर, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, प्रबक्ता डिल्ली गिरी, नेतृ उमा थापा मगर लगायत नेताहरु जिल्ला प्रशासन पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्यकर्मीहरुलाई सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम

८ असार २०८०, शुक्रबार १५:५५
नेपालगञ्ज : नेपालगञ्जमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम सुरु भएको छ । गर्मीयामको सुरुवातसंगै सर्पदंशका बिरामी बढ्ने गर्छन् । र, उपचारका लागि स्वास्थ्य संस्था तथा अस्पतालहरुमा पुग्ने गर्छन् । स्वास्थ्य संस्था तथा अस्पतालमा पुगेका सर्पदंशका बिरामीहरुलाई कसरी उपचार व्यवस्थापन गर्ने भन्ने विषयमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत पार्ने उद्देश्यले […]

सम्बन्धित