लुम्बिनी प्रादेशिक अस्पताल आर्थिक समस्यामा

सदरलाइन संवाददाता २१ जेष्ठ २०८०, आईतवार १४:२३
 

नेपालगञ्ज : लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई लुम्बिनी प्रदेश सरकारले अनुदान उपलब्ध नगराउँदा अस्पताल सञ्चालनमै समस्या देखिएको छ ।

प्रदेश सरकारले तीन वर्षअघि अनुदान उपलब्ध गराउने आश्वासन दिएर अस्पतालको स्थायी आम्दानीको स्रोतका रूपमा रहेको व्यावसायिक सटर भत्काएपछि अस्पताल सञ्चालनमा समस्या पर्दै आएको छ ।

प्रदेश सरकारले दुई वर्षसम्म अनुदान उपलब्ध गराए पनि त्यसपछि गत वर्षबाट अनुदान सहयोग नदिएपछि अस्पताल सञ्चालनमा आर्थिक स्रोतको समस्या परेको हो ।

अस्पताल प्रशासनले अस्पताल सञ्चालनमै समस्या परेको भन्दै विभागीय प्रमुख, शाखा प्रमुख र वार्ड इञ्चार्जसँग अस्पतालको सेवा प्रवाह र विकासका विषयमा छलफल कार्यक्रम आयोजना गरेर निकास खोज्ने प्रयास गरेको छ ।

छलफल कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले प्रदेश सरकारले घोषणा गरेको अनुदान उपलब्ध नगराउँदा अस्पताल सञ्चालनमा समस्या देखिएको बताए ।

प्रदेश सरकारले अस्पतालको सटर भत्काएर आधुनिक अस्पताल बनाउने योजना अनुसार अस्पताललाई वार्षिक साढे दुई करोड रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो ।


त्यसको दुई वर्षसम्म अनुदान उपलब्ध भए पनि त्यसपछि भने प्रदेश सरकारका तर्फबाट आउनुपर्ने अनुदान आउन सकेको छैन । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा सुदर्शन थापा क्षेत्रीले बिरामीको अधिक चाप र अस्पतालको सीमित साधन र स्रोतका कारण अस्पताल सञ्चालनमा कठिनाइ उत्पन्न भएको बताए ।

दैनिक एक हजार चार सय बिरामीले अस्पतालबाट सेवा लिँदै आएका छन् भने अस्पतालको गुणस्तरमा पनि वृद्धि भएको छ ।

गत वर्ष प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा अस्पतालको जनरल शय्या र बहिरङ्ग सेवा अन्तर्गत टिकट निःशुल्क गर्ने घोषणा गरेको थियो । त्यसबापत अस्पताललाई दिनुपर्ने अनुदानसमेत प्रदेश सरकारले उपलब्ध नगराएको अस्पताल प्रशासनले जनाएको छ ।

खासगरी पछिल्लो समय अस्पतालको सेवालाई थेग्न आर्थिक स्रोत खुम्चिँदै गएका कारण समस्या परेको छ भने जनशक्तिको कमी भएको छ । सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई तीन सय शय्याको स्वीकृत दिए पनि अहिले अस्पतालमा पाँच सय शय्याको सुविधा छ । जसले गर्दा अस्पतालभित्रको सीमित स्रोतले थेग्न कठिन भएको हो ।

अस्पतालका अध्यक्ष श्रेष्ठले आर्थिक अभावका बिचमा पनि विभिन्न सरोकारवाला निकायसंँग छलफल गरी अस्पतालले दिने सेवालाई यथासम्भव चुस्त बनाउन कोसिस गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा जेठ २६ सम्म थपियो विदा

२१ जेष्ठ २०८०, आईतवार १४:२३
नेपालगञ्ज : अत्याधिक गर्मी बढेपछि नेपालगञ्जमा विदा थप गरिएको छ । यसअघि जेठ २१ गतेदेखि २३ गतेसम्म गर्मी विदा गरिएकोमा २६ गते शुक्रबारसम्म थपिएको शिक्षा महाशाखाले जनाएको छ । बर्षे विदाबाट कट्टी हुने गरी विदा थप गरिएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए । दिन प्रति दिन गर्मी बढ्दै जाँदा […]