कोहलपुर (बाँके) : ३७ बर्षसम्म बिपिको समाजबाद बिचार बोकेका नेपाली काङ्ग्रेसमा लागेका निष्टावान काँग्रेस नेता राजेन्द्र श्रेष्ठले पार्टी परित्याग गरेका छन् । उनले पार्टीमा भएको बेथिती तथा नेतृत्वको स्वेच्छारी नीतिप्रति असन्तुष्टी जनाउँदै पार्टी परित्याग गरेको बताएका छन् ।
काँग्रेसले बिपि कोइरालाको समाजवादको नीति व्यवहारमा त्यागेको र गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको त्यागको अबमुल्यन गरि भ्रष्टाचारमा चुर्लुम्म डुबेको र टिकट दिँदासमेत मुल्यांकन नगरी पैसा लिएर टिकट दिने र सिमा मिचिँदा नबोल्ने भएकोले चित्त नबुझेर पार्टी परित्याग गरेको श्रेष्ठले भनेका छन् ।
श्रेष्ठको नेतृत्वमा कोहलपुरबाट रामबहादुर बिष्ट, अजय भट्टराई, दुर्गा घिमिरे, रेशम बहादुर गिरी पुष्पदेव गिरी, नन्दलाल अर्याल, गौरव रावल, डण्डपानी कंडेल, नविन निश्चल आचार्यलगायत ७६ जनाले पार्टी परित्याग गरेका छन् ।
निम कटेज कोहलपुरमा भेला भएका अधिकांश नेपाली काँग्रेस समर्थक र केहि नेकपा एमालेका समर्थकले समेत पार्टी छोडेको घोषणा गरेपनि कुन पार्टीमा प्रबेश गर्ने वा स्वतन्त्र बस्नेबारे भने केहि जानकारी दिएका छैनन् ।
एक सहभागिका अनुसार पुरानो पार्टी त्याग गरेकाहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रबेश गर्ने अनुमान लगाएका छन् । पार्टी परित्याग गर्नेहरुको भेलामा बर्तमान देशको परिस्थितीलाई मध्यनजर गर्दै शासन विकास र सार्वजनिक सेवा प्रवाहमा क्रमश उन्नयन सम्मुनत र संबृद्धि एबं सेवा प्रवाह छिटो छरितो र जनमुखि बनाउन एक मात्र अनिबार्य शर्त सुशासन कायम गर्नुपर्ने भन्ने ध्येयकासाथ बाँके जिल्ला नेपाली काँग्रेसका सदस्य राजेन्द्र श्रेष्ठको नेतृत्वमा पार्टी परित्याग गरेको उल्लेख गरिएको छ ।