नेपालगञ्ज : बिरामीको चाप बढेसँगै नेपालगञ्जका अस्पतालमा रगत अभाव भएको छ । नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्रका अनुसार बिरामीलाई दैनिक रगत आवश्यक पर्न थालेपछि अस्पतालमा रक्त अभाव भएको हो ।
क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले नेपालगञ्जमा पछिल्लो समय रगत अभाव भएको बताए । ‘पछिल्लो समयमा नेपालगञ्जका अस्पतालमा बिरामीको चाप बढेको देखिन्छ, जसले गर्दा अस्पतालका बिरामीलाई दैनिक रुपमा चाहिने रगत उपलब्ध गराउन हामीलाई निकै कठिनाइ भइरहेको छ । केन्द्रमा रगतको मात्रा अभाव हुन नदिन सामाजिक संघ–संस्था वा संगठनले गर्ने रक्तदान कार्यक्रमको भर पर्नु परेको छ’, रेग्मीले भने ।
नेपालगञ्जमा अचेल रक्तदानसम्बन्धी कार्यक्रम कम मात्रामा हुने गरेकाले पनि रगत अभाव हुन थालेको क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख रेग्मीको भनाइ छ । रक्तसञ्चार केन्द्रमा रगत अभाव हुन नदिन र रगत आवश्यक भएका बिरामीलाई उपलब्ध गराएर जीवनदान गर्न उनले सामाजिक संघ–संस्था वा संगठनलाई रक्तदान कार्यक्रम गर्न आग्रहा गरे ।