‘अत्याधुनिक टर्मिनल भवन’को निर्माण कार्य तीब्र गतिमा

सदरलाइन संवाददाता १ जेष्ठ २०८०, सोमबार १६:१६
 

नेपालगञ्ज : नेपालगञ्ज बिमानस्थल कार्यालय परिसरमा ‘अत्याधुनिक टर्मिनल भवन’ निर्माण कार्य चलिरहेको छ । बिमानस्थल कार्यालयको २० वर्षे गुरुयोजना अनुसार करिव ३ अर्ब रुपैयाँको लागतमा अत्याधुनिक टर्मिनल भवनसहित रनवे, पार्किङ एरिया लगायत पुर्वाधार निर्माण कार्य सुरु भएको हो ।

उक्त निर्माण कार्यका लागि ‘शर्मा एण्ड कम्पनी’ ले ठेक्का सम्झौता गरेर काम अगाडी बढाइ रहेको छ । ठेकेदार कम्पनीका अनुसार अत्याधुनिक टर्मिनल भवनको काम सन् २०२२ डिसेम्बर १६ बाट सुरु भएर २०२५ डिसेम्बर १५ मा सम्पन्न गरिनेछ ।

टर्मिनल भवनसँगै मापदण्डअनुसार भन्सार, अध्यागमन, क्वारेन्टाइनसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुबै किसिमका हवाई उडानका लागि निर्माण हुने सम्बद्ध अधिकारीले बताएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले नेपालगञ्ज बिमानस्थलको गुरुयोजना अनुसार अत्याधुनिक टर्मिनल भवनसहित भौतिक पुर्वाधारका कामहरु भइरहेको बताएका छन् ।

‘गुरुयोजना अनुसार नै नेपालगञ्जमा टर्मिनल भवन निर्माण कार्य चलिरहेको छ, हामीले नेपालगञ्ज बिमानस्थलको रनवे १८ सय मिटर पुर्यायौं, अझै ७ सय मिटर रनवे थप्नुपर्नेछ, यो सबै काम गुरुयोजना अनुसार भएको हो,’ उनी भन्छन् । गुरुयोजना अनुसार टर्मिनल भवन करिव ८ हजार वर्गफिट स्क्वायरमा निर्माण गर्न लागिएको महानिर्देशक अधिकारीले सुनाए ।


ठेकेदार कम्पनीका प्रतिनिधी सौरभ शर्मा दुई तल्ला सहितको अत्याधुनिक टर्मिनल भवन निर्माणको काम तोकिएको समय अगाडी नै सम्पन्न गर्ने बताउँछन् । ‘आगामी भदौं महिनासम्म स्टकचरको काम सम्पन्न गर्ने र त्यसपछि त्यसपछि फिनिसिङको काम गर्न हामीलाई एक÷डेढ वर्ष जति लाग्न सक्छ, तोकिएको समयभन्दा ५/६ महिना अगाडी विमानस्थल कार्यालयलाई भवन हस्तान्तरण गरिसक्ने हाम्रो लक्ष्य छ,’ उनी भन्छन् ।

केही समयअघि निर्माण सामग्रीको अभाव सिर्जना भएपनि अहिले करिव एक चौथाई जति निर्माण सामग्री ‘स्टक’ राखिएको शर्माले बताए । निर्माणाधिन टर्मिनल भवनको सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती सहित उच्च अधिकारीले गत फागुनमा स्थलगत निरीक्षण गरेका थिए । त्यस क्रममा मन्त्री किरातीले निर्माण कम्पनीलाई तोकिएको समयभित्र काम सम्पन्न गर्न निर्देशन दिँदै गुरुयोजना अनुसार काम सम्पन्न भएपछि नेपालगञ्ज बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न बाटो खुल्ने बताएका थिए ।

अत्याधुनिक टर्मिनल भवन बनेपछि नेपालगञ्जबाट अन्तर्राष्ट्रिय उडानमा थप बल पुग्ने यहाँका पर्यटन ब्यवसायीले विश्वास गरेका छन् । निर्माण कार्य गर्दा गुणस्तरमा ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ । पर्यटन ब्यवसायीको संस्था नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान गर्ने विषयमा पटक पटक आवाज उठाउँदै आएको र अत्याधुनिक टर्मिनल भवन बनेपछि सहज हुने बताए ।

‘नेपालगञ्ज बिमानस्थलको स्तरोन्नती हुन आवश्यक थियो, जसरी अत्याधुनिक टर्मिनल भवन बन्दैछ, यसले नेपालगञ्जलाई अन्तर्राष्ट्रिय उडानसँग जोड्न मदत गर्नेछ ।’ नाट्टाकै अगुवाईमा नेपालगञ्ज–पोखरा उडान सुरु गरिएको थियो । त्यसपछि बुद्ध एयरले आफ्नो नियमित तालिका अनुसार उडान भर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज मेडिकल कलेजको बस दुर्घटना हुँदा ६ जना घाइते

१ जेष्ठ २०८०, सोमबार १६:१६
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेजको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । कोहलपुरबाट शिविरका लागि गएको भे १ क ३१८ नम्बरको बस डडेलधुरा र बैतडीको सिमामा पर्ने अनारखोलीमा सोमवार राती पौने ९ बजे दुर्घटना भएको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । दार्चुलाको गोकुलेश्वरमा आयोजना गरिएको […]