राप्तीसोनारीबाट हराएका दुबै बालिका पोखरामा फेला

सदरलाइन संवाददाता ११ आश्विन २०७९, मंगलवार १४:०३
 

नेपालगञ्ज : बाँकेको कुसुमबाट हराएका बालिका पोखरामा भेटिएका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरिया निवासी ११ वर्षीया बन्दना बि.क र निशा परियार यही असोज ४ गते राती घरबाटै हराएका थिए ।

उनीहरु हराएको एक हप्तापछि पोेखरामा फेला परेका हुन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) ऐनबहादुर मल्लले दुबै बालिका पोखरामा सकुशल अवस्थामा फेला परेको जानकारी आएको बताए ।

‘बालिकाहरु पोखरामा फेला परेको जानकारी हामीलाई आएको छ, उनीहरु कसरी र को सँग त्यहाँ पुगे भन्ने कुरा अनुसन्धानबाट खुल्छ,’ मल्लले भने । दुबैका परिवारले आफन्त कहाँ जताततै खोजी गर्दा पनि बालिकाहरु कतै फेला परेका थिएनन् ।

ईलाका प्रहरी कार्यालय कुसुमका प्रहरी नायव निरीक्षक(सई) पुष्करराज जोशीले बालिकाहरु पोखरामा भेटिएको खोजी गर्न त्यहाँ पुगेका परिवारकै सदस्यले जानकारी दिएको बताए ।


‘बन्दना बि.क यसअघि परिवारसँग पोखरा गएको रहेछ, त्यहाँबाट फर्केपछि पनि कहिले काही पोखरामा फोन गर्ने गरेको हुँदा त्यतै गएको शंका लागेर खोजी गर्न हामीले परिवारलाई त्यहाँ पठाएका थियौं, मंगलवार बिहान बालिकाहरु पोखरामा सकुशल अवस्थामा भेटिएको कुरा फोनमार्फत जानकारी दिनु भएको छ,’ उनले भने ।

विस्तृत कुरा बालिकाहरु घरमा आईसकेपछि पत्ता लाग्ने जोशीले बताए । उनले थपे, ‘बालिकाहरु कसरी पोखरा पुगे, रातको समयमा कहाँबाट गाडी चढें, त्यो सबै कुरा उनीहरु घरमा आएपछि पत्ता लगाउँछौं ।’ परिवारका अनुसार गत मंगलबार बेलुका करिव ८ बजेतिर घरमा खाना खाएर सुत्ने क्रममा उनीहरु एक्कासी हराएका थिए ।

बालिका हराएको दुई दिनपछि बिहीबार परिवारले ईलाका प्रहरी कार्यालय कुुसुममा निवेदन दता गराएका थिए । ईप्रका कुसुमले परिवारसँग बालिकाको फोटो मागेर हुलिया सहितको विवरण ईलाका प्रहरी कार्यालय कोहलपुरमा पठाएको थियो ।

दुबै बालिकाको आमा दोस्रो बिबाह गरेर अन्यत्रै गएका छन् । बुवाले दोस्रो बिबाह गरेपछि निशा माउली हजुरबुवासँग र बन्दना कान्छी आमा तथा हजुरआमासँग बस्दै आएकी थिइन् । आफन्तका अनुसार निशाले स्थानीय कुसुमेश्वर माध्यामिक बिद्यालयको कक्षा ४ र बन्दनाले सोही बिद्यालयको कक्षा ३ मा पढ्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा छोटी भन्सार सञ्चालन नहुँदा तस्करी बढ्यो

११ आश्विन २०७९, मंगलवार १४:०३
नेपालगञ्ज : बाँकेमा रहेका नेपाल–भारत सीमाका छोटी भन्सार सञ्चालनमा नहुँदा तस्करी बढ्दै गएको छ । मूल भन्सार मानिने नेपालगञ्ज भन्सारअन्तर्गत रहेका सात वटा छोटी भन्सार सञ्चालनमा नहुँदा तस्करी बढेको हो । नेपालगन्ज भन्सार कार्यालयका अनुसार बाँकेको सुइया बगौडास्थित कटकुइया, नरैनापुर, भगवानपुर, खडैचा होलिया, हिरमिनियाको भघोटना, साईगाउँ र साईगाउँ पश्चिमतर्फको उढरापुर […]