खजुरामा तीनपटक म्याद थप्दा पनि चार लेन सडक बनेन

सदरलाइन संवाददाता २० बैशाख २०८०, बुधबार १२:४३
 

खजुरा (बाँके) : खजुरामा निर्माणाधीन चार लेन सडक तीनपटक म्याद थप्दा पनि सम्पन्न हुन सकेको छैन ।

बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर हालसम्म तीनपटक म्याद थप भए पनि काम सन्तोषजनकरूपमा अघि बढ्न नसकेको सडक डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख इञ्जिनियर नीरज शाक्यले जानकारी दिए ।

‘सम्झौताअनुसार प्रतिदिन ०.०५ प्रतिशतका दरले हर्जाना लगाएर काम शुरु भए पनि सन्तोषजनकरूपमा निर्माण कार्य अघि बढेको छैन’, उनले भने, । शुरुवातमा बिजुलीका पोल तथा खानेपानीको पाइप सार्ने, रुख तथा सडकखण्डमा पर्ने संरचना, कोभिड–१९ का कारण कामले गति लिन नसके पनि पछिल्लो समय भने निर्माण कम्पनीको लापरवाही देखिएको छ ।


सडक डिभिजन कार्यालय नेपालगञ्जले पटक–पटक म्याद थप हुँदासमेत काम सम्पन्न नगरेपछि अन्तिमपटकका लागि भन्दै हर्जाना तिराएर चैत सुरुदेखि निर्माण कम्पनीलाई सडक निर्माणको अनुमति दिएको थियो । दैनिक हर्जाना लगाएर काम सुरु गराउँदा पनि निर्माण कम्पनीले सडक निर्माणका लागि बारम्बार आलटाल गरेपछि ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरेको शाक्यले बताए । काम सन्तोषजनकरूपमा अघि नबढेपछि पछिल्लो समय पेश्कीस्वरूप उपलब्ध गराइएको रकमसमेत बैंकबाट फिर्ता ल्याइएको उनको भनाइ छ ।

बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर र बर्दियाको गुलरियामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि २१ करोड ४९ लाखमा सम्झौता भएको थियो । निर्माण कम्पनीले निर्माणकार्यमा ढिलाइ गर्दा यात्रुलाई सास्ती भएकाले ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढाइएको शाक्यले बताए । सडक निर्माण अलपत्र पारेपछि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सडक डिभिजन कार्यालयलाई ठेक्का सम्झौता तोड्न आग्रह गरेका थिए ।

सडक निर्माणका लागि पटक–पटक ताकेता गर्दा पनि काम शुरु नभएपछि सरोकारवाला निकाय सडक डिभिजनलाई ठेक्का सम्झौता तोडेर अन्य प्रक्रियाबाट सडक निर्माणका लागि पहल गरिदिन आग्रह गरिएको अध्यक्ष विकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेसँग जोडिएको अन्तर्राष्ट्रिय सीमा शील

२० बैशाख २०८०, बुधबार १२:४३
नेपालगञ्ज : यहाँस्थित नेपाल–भारत जमुनाहा नाका बन्द गरिएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच र श्रवास्ती जिल्लामा बिहीबार हुने नगर पञ्चायतको निर्वाचनका लागि जमुनाहा नाकालाई मंगलबार बेलुकी ६ बजेदेखि पूर्ण रुपमा बन्द गरिएको छ । मंगलबार बेलुकी ६ बजेबाट बन्द गरिएको सीमा नाका बिहीबार बेलुका ६ […]

सम्बन्धित