क्यान्सर अस्पतालमा वर्षेनी तीस हजार बिरामीको उपचार

सदरलाइन संवाददाता २१ श्रावण २०८०, आईतवार १५:०१
 

नेपालगञ्ज : बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले हरेक वर्ष पश्चिम नेपालका ३० हजार क्यान्सरका बिरामीको उपचार गरिरहेको छ ।

यति ठुलो सङ्ख्यामा क्यान्सरका बिरामीको उपचार गर्ने सो अस्पतालमा रहेका सबै चिकित्सक र कर्मचारी काज र करारका मात्र छन् । अस्पतालमा हालसम्म एक जना पनि स्थायी दरबन्दी छैन । काज र करारमा रहेका चिकित्सक र कर्मचारी पनि आवश्यकताको २५ प्रतिशत मात्रै रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नीरज भट्टराईले दैनिक दुई सयदेखि तीन सय बिरामी उपचारका लागि आउने सो अस्पतालमा एक जना पनि स्थायी दरबन्दी नभएको जनाउँदै काज र करारमा रहेको जनशक्ति पनि निकै अपुग रहेको बताए ।

उनले अस्पतालमा हाल चिकित्सक र कर्मचारी गरेर ११० जना रहेको जनाउँदै आफूले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरेर चार सय जनशक्ति आवश्यक रहेको ठहर गरी सरकारसँग माग गरेको बताए ।

डा. भट्टराईका अनुसार हाल अस्पतालमा अधिकृतस्तरका चिकित्सक र कर्मचारी ४५ जना करारमा रहेकामा २७ जना थप माग गरिएको, ५८ जना सहायकस्तरका कर्मचारी करारमा रहेकाले ३४ जना थप माग गरिएको छ । साथै सबै चिकित्सक र कर्मचारीलाई स्थायी दरबन्दी कायम गरेर पठाउन मन्त्रालयमा माग गरिएको छ ।

बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गएको र हाल १५ जना विशेषज्ञ चिकित्सक काज र करारमा रहेकामा थप छ जना माग गरिएको र पाँच जना मेडिकल अफिसर रहेकामा थप दुई जना माग गरिएको छ ।


पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरेर तीन वटा प्रदेशको ४० जिल्लाका क्यान्सर रोगका बिरामीको उपचार गर्दै आएको एक मात्र सो अस्पतालले गत आर्थिक वर्षमा २९ हजार २५५ जना क्यान्सरका बिरामीको उपचार गरेको छ ।

अस्पतालका प्रमुख डा. भट्टराईका अनुसार सो अस्पतालले विभिन्न सेवासुविधामार्फत उपचार गर्न थालेपछि पश्चिम नेपालको तीन वटा प्रदेशका करिब ३० हजार बिरामीलाई उपचार सहज भएको छ ।

यसअघि तीन प्रदेशका बिरामीलाई क्यान्सर उपचारका लागि चितवन, काठमाण्डौ वा भारतका विभिन्न शहरमा जानुपर्ने बाध्यता रहेकामा अब सो बाध्यता समाप्त भएको अस्पतालले जनाएको छ ।

गत आवमा ७३१ जना बिरामीको शल्यक्रियासहितको उपचार पनि गरिएको अस्पतालले जनाएको छ । तीमध्ये केही शल्यक्रिया अति नै जटिल किसिमका र काठमाडौँमा समेत नभएको शल्यक्रिया सेवा पनि गरिएको जनाइएको छ ।

यसै गरी ब्लड क्यान्सर वार्ड नै सञ्चालन गरेर ब्लड क्यान्सरको पनि उपचार शुरु गरिएको छ । अस्पतालमा दुई वटा अत्याधुनिक अप्रेशन थिएटर, भिडियो एक्सरे र सिटी स्क्यान पनि सुचारु रहेको छ ।

अस्पतालमा किमो सेवा, ब्राकी थेरापी, दूरबिन प्रविधिबाट पाठेघर र डिम्बासयमा क्यान्सर भएका बिरामीको शल्यक्रिया, हिस्टोप्याथोलोजी सेवा सुचारु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दोलखाको पहिरोपीडितलाई एसएस फाउण्डेशनको सहयोग

२१ श्रावण २०८०, आईतवार १५:०१
काठमाण्डौ : बिहीबार दोलखाको गौरीशंकर गाउँपालिका– ७ मार्बुमा गएको पहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएका परिवारलाई एसएस फाउण्डेशनले सहयोग गरेको छ । फाउण्डेशनले यज्ञ थामीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनमार्फत् फाउन्डेशनले यज्ञका छोरा तोकबहादुर थामीलाई सहयोग रकम हस्तान्तरण गरिएको हो […]