बर्दियामा स्वास्थ्य बिमा प्रभावकारी बन्दै

सदरलाइन संवाददाता १९ बैशाख २०८०, मंगलवार १३:१४
 

बर्दिया : बर्दियामा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा सहज र प्रभावकारी भएपछि बिमा गर्नेको सङ्ख्या बढेको छ । स्वास्थ्य बिमा बोर्ड बर्दियाका अनुसार जिल्लामा हालसम्म एक लाख २२ हजार २५८ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । २०७४ असोज ६ गतेबाट बर्दियामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो ।

स्वास्थ्य बिमा बोर्ड बर्दियाका दर्ता अधिकारी डिकेन्द्रबहादुर विष्टले स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढ्दै गएको बताए । स्वास्थ्य संस्थाबाट सहज रूपमा सेवा पाउने र स्थानीय सरकारले बिमालाई प्राथमिकतामा राखेर आफ्ना नागरिकको बिमा गर्न बजेट विनियोजन गर्ने गरेका कारण बिमा प्रभावकारी भएको बताए ।

दर्ता अधिकारी विष्टले लुम्बिनी प्रदेशका जिल्लाहरूमध्ये बर्दियामा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी र स्वास्थ्य सेवा प्रदान गर्नेमा अगाडि रहेको दाबी गरे । गुलरिया नगरपालिका–४ का अमरराज लम्सालले परिवारमा कोही बिरामी पर्दा लाग्ने स्वास्थ्य जाँचको शुल्क र औषधि उपचार बिमाबाट हुने भएकाले वार्षिक ५० हजार बराबरको बचत हुने गरेको बताए ।


गुलरिया नगरपालिका–९ का प्रमोदकुमार लोधले बिमा गरेपछि औषधि उपचार सेवा लिन सजिलो भएको बताए । उनले कम शुल्क तिरेर पनि धेरै सेवा लिन सकिने भएकाले स्वास्थ्य बिमा प्रभावकारी भएको बताए ।

स्वास्थ्य बिमा वोर्ड बर्दियाका अनुसार बिमा कार्यक्रम लागू भएपछि गत आर्थिक वर्ष २०७८/७९ सम्ममा एक लाख १५ हजार ६ सय एक जनाले स्वास्थ्य बिमा गरेको पाइएको छ । चालु आर्थिक वर्ष २०७९/८० मा थप ६ हजार ६ सय ५७ जनाले बिमा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्लास्टिकका भाँडासँग प्रतिस्पर्धा गर्न नसकेपछि कुमाल समुदाय विस्थापित हुँदै

१९ बैशाख २०८०, मंगलवार १३:१४
नेपालगञ्ज : बजारमा प्लास्टिकका भाँडा आएपछि माटाका भाँडा बनाउने कुमाल समुदाय आफ्नो परम्परात पेसाबाट विस्थापित हुँदै गएका छन् । परम्परादेखि नै माटाका भाँडा बनाउँदै आएका बाँकेका विभिन्न ठाउँका कुमाल समुदायले माटाका भाँडा बनाउन छाडेर अन्य पेसामा लागेका छन् । माटाका भाँडा बिक्री हुन छाडेपछि उनीहरू ज्यालामजदुरी, घर बनाउने काममा लागेका […]

सम्बन्धित