दाङबाट जडीबुटी निर्यात बढ्यो

सदरलाइन संवाददाता ११ बैशाख २०८०, सोमबार १२:४६
 

दाङ : दाङको राष्ट्रिय तथा निजीबाट बितेको नौ महिनाको अवधिमा करिब दुई लाख किलोभन्दा बढी जडीबुटी निर्यात भएको छ । डिभिजन वन कार्यालय घोराहीका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को फागुन महिनासम्म राष्ट्रिय र निजी वन क्षेत्रबाट दुई लाख २४ हजार ३६ किलो बराबरको विभिन्न प्रजातिका जडीबुटी निकासी भएको हो ।

निजी वनबाट एक लाख ९४ हजार ३३६ किलो र राष्ट्रिय वनबाट २९ हजार सात सय किलो जडीबुटी बाहिर निर्यात भएको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिए । डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा राष्ट्रिय वन र निजी वन क्षेत्रबाट चार लाख ३८ हजार ९५२ किलो विभिन्न प्रकारका जडीबुटी निर्यात भएको थियो । विगतको वर्षको तुलनामा यस वर्ष कम निर्यात भए पनि अझै करिब तीन महिना बाँकी रहेकाले विगतको बराबर जडीबुटी निर्यात हुने सहायक वन अधिकृत चौधरी बताए ।

जिल्लाबाट यस वर्ष हालसम्म ५८ हजार ८६ किलो टिमुर निर्यात भएको छ । जसमध्ये राष्ट्रिय वनबाट चार हजार पाँच किलो र निजी वनबाट ५३ हजार ५८६ किलो टिमुर निर्यात भएको डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत चौधरीले बताए । उनका अनुसार वन नियमावलीमा तोकिएअनुसार राष्ट्रिय वनको जडीबुटी सङ्कलनको राजस्व लिने गरिए पनि निजी वनको जडीबुटी सङ्कलनको राजस्व पूर्ण रूपमा छुट गरिएको छ । निजी वन क्षेत्रबाट उत्पादित जडीबुटीको उत्पादन र प्रवद्र्धनलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेकाले निर्यातमा राजस्व छुट गरिएको सहायक वन अधिकृत चौधरीले बताए ।


राष्ट्रिय वनबाट विभिन्न सात प्रकारका जडीबुटी र निजी वनबाट आठ प्रकारका जडीबुटी निकासी हुने गरेको छ । राष्ट्रिय वन क्षेत्रबाट रिट्ठा तीन हजार किलो, मालागेडी दुई हजार पाँच सय किलो, तेजपत्ता पाँच हजार किलो, कालीकाठ चार हजार किलो, दालचिनी तीन हजार किलो र दारुहल्टी सात हजार सात सय किलो निर्यात हुँदा दुई लाख ३३ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको डिभिजन वन कार्याल घोराहीले जानकारी दिएको छ ।

निजी वन क्षेत्रबाट यस वर्ष सबैभन्दा धेरै कालीकाठ निर्यात भएको छ । जसअनुसार नौ महिनाको अवधिमा कालीकाठ ७३ हजार ५३० किलो, टिमुर ५३ हजार ५८६ किलो, मालागेडी १३ हजार पाँच सय किलो, रिट्ठा १४ हजार दुई सय किलो, काउलो बोक्रा २१ हजार ८७५ किलो, दालचिनीको बोक्रा सात हजार १४५ किलो, तेजपत्ता पाँच हजार पाँच सय किलो, तिगेडी पाँच हजार किलो जडीबुटी निर्यात भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । पछिल्लो समय जिल्लाबाट जडीबुटीको उत्पादन र निकासी परिमाण बढ्दै गएको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत चौधरीले बताए ।

जडीबुटी खेतीको प्रवद्र्धन गर्दै वनका माध्यमबाट उपभोक्ताको आयआर्जनमा वृद्धि गर्ने गरी किसानलाई डिभिजन वन कार्यालयले प्रोत्साहन गर्दै आएको छ । “वनमा जडीबुटी खेती गरेर उपभोक्तालाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले वन कार्यालयले जडीबुटी खेतीमा किसानलाई निःशुल्क बिरुवा वितरण गर्ने गर्दै आएको छ,” सहायक वन अधिकृत चौधरीले भने, “जसले गर्दा जिल्लामा जडीबुटी खेती गर्नेको सङ्ख्या बढ्दै जाँदा जडीबुटीको उत्पादन पनि बढ्ने गरेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरद्वारा धरौटी जफत गर्ने अभियान सञ्चालन

११ बैशाख २०८०, सोमबार १२:४६
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले सम्झौता गरी काम नगरेका कम्पनी र फर्महरूको ठेक्काको धरौटी रकम जफत गर्ने अभियान सञ्चालन गरेको छ । नगरपालिकाका वडागत तथा नगरपालिकाका गौरवका योजनाहरुमा यो अभियान लागू गर्न थालेको छ । निर्माण व्यवसायीहरुले ठेक्का सम्झौता गर्ने तर काम नै सुरु नगर्ने प्रवृति बढेपछि यो अभियान सुरु […]