भत्किएको तटबन्ध मर्मत नगर्दा स्थानीय आक्रोशित

सदरलाइन संवाददाता १० बैशाख २०८०, आईतवार १४:५९
 

राप्तीसोनारी (बाँके) : बाँकेका राप्तीसोनारी ७ फत्तेपुरमा निर्मित तटबन्ध भत्किँदा पनि अझै मर्मत गरिएको छैन । स्थानीय बासिन्दाका अनुसार गतवर्षको बाढीले उक्त तटबन्ध भत्काएको थियो । नरैनापुर ६ का स्थानीय अगुवा रामचन्द्र यादवले तटबन्ध भत्किएको एक वर्ष हुन लाग्दा पनि अहिलेसम्म मर्मत नगरिएको भन्दै आक्रोश पोखेका छन् ।

‘यो तटबन्ध भत्किएको एक वर्ष हुन लाग्यो, तर अहिलेसम्म सरकारले ध्यान दिएको छैन, यस क्षेत्रका बासिन्दालाई भोट बैंक मात्र बुझ्ने नेता छन्, बर्खाको मौसम आउन दुई महिना मात्र बाँकी तर यसमा कुनैपनि राजनीतिक दलका नेताले तटबन्धका लागि पहल गरेको मैले सुनेको छैन,’ उनले भने ।

उक्त तटबन्ध पूर्ण रुपमा भत्किएमा राप्ती सोनारी ७ फत्तेपुर र नरैनापुर ६ गंगापुरका करिव १० हजार मानिसको ज्यान जोखिममा रहेको र हजारौं विघा खेती योग्य जमिन नष्ट हुने यादव बताउँछन् । क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदले चुनावमा तटबन्ध मर्मत गरिदिने आश्वासन जनतालाई दिएपनि अहिले चटक्कै बिर्सेको उनको गुनासो छ ।


‘काम गर्नलाई बैशाख र जेष्ठ महिना मात्र बाँकी छ, तर अहिलेसम्म केही काम भएको छैन, न स्थानीय सरकारले न प्रदेश सरकार र न त केन्द्र सरकारले ध्यान दिएको छ,’ काँग्रेसका युवा नेता यादवले भने ‘यो तटबन्ध निर्माण गर्नका लागि छिटोभन्दा पहल गर्न सरोकारवालाहरूलाई मेरो हार्दिक अनुरोध छ ।’

तटबन्ध मर्मत नभएमा राप्ती सोनारी ७ र नरैनापुर ६ मा नेताहरुलाई गाउँ पस्न निषेध गर्ने चेतावनी दिएका छन् । यादवले थपे, ‘तसर्थ छिट्टै यस तटवन्ध निर्माणको पहल गरि काम अगाडी बढाईयोस् भनी जोडदार माग गर्दछु ।’ यादवले जनताको ज्यान नै नरहेमा नेता र पार्टीको केही अर्थ नरहने भन्दै पार्टी भन्दा माथि उठेर सबैले पहल गर्नुपर्ने बताएका छन् । ‘तत्काल यो काम शुरु नभएमा हामी आन्दोलन गर्न बाध्य हुनेछौ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भगवान श्री परशुरामको जन्मोत्सवमा नेपालगञ्जमा शोभायात्रा

१० बैशाख २०८०, आईतवार १४:५९
नेपालगञ्ज : भगवान परशुराम जन्मोत्सवका अवसरमा आइतवार नेपालगञ्जमा शोभायात्रा निकालिएको छ । रामजानकी मन्दिर रानितलाउ समितिको आयोजनामा भगवान श्री परशुराम जन्मोत्सवको अवसरमा विभिन्न धार्मिक संगठनहरुले आइतवार विहान पैदल तथा मोटरसाइकल र्याली निकालेका थिए । आइतबार बिहान ८ बजे शोभायात्रा र मंगल कलश यात्रा गरी पुनः भगवान परशुराम मन्दिर रानितलाउमा हवन, […]