विस्फोटमा घाइते पाण्डेय नेपालगञ्ज रेफर

३ श्रावण २०७६, शुक्रबार १५:१७
 

सदरलाइनडटकम,
कैलाली : कैलालीको धनगढीमा बम विस्फोटमा परि गम्भीर घाइते भएका होटेल सञ्चालकलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा गम्भीर घाइते भएका होटेल सञ्चालक केशवराज पाण्डेयलाई थप उपचारका लागि शुक्रवार नेपालगञ्ज रेफर गरिएको हो ।
बम विस्फोटबाट घाइते भएर धनगढीकै माया मेट्रो अस्पतालमा उपचार गराइरहनु भएका पाण्डेयको टाउकोमा बढी चोट लागेका कारण थप उपचारका लागि पठाइएको हो । घटनामा परि घाइते भएका अन्य तीन जनाको भने माया मेट्रो अस्पतालमौ उपचार भइरहेको छ ।
बम विस्फोटमा परेर बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १ का राम सिंहको उपचारका क्रममा ज्यान गएको थियो । राम सिंहको उपचारका क्रममा माया मेट्रो अस्पतालमा बिहीवार राति मृत्यु भएको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक पुष्कर पन्तले बताए ।


मृतक राम सिंह आफ्ना कार्यकता भएको विप्लवको स्वीकारोक्ति
धनगढीमा बिहीवार साँझ भएको बम विस्फोटमा मृत्यु हुने रामबहादुर सिंह आफ्नो कार्यकर्ता भएको विप्लव समूहले पुष्टि गरेको छ । विप्लव समूहको सेती–महाकाली ब्यूरो इञ्चार्ज ‘निर्माण’ले शुक्रवार विज्ञप्ति जारी गरी पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट भएको जनाएका छन् ।
सिंहको बिहीवार राति उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको थियो । घटनामा घाईते भएका कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले सेरला पनि विप्लव समूहकै कार्यकर्ता भएको आशंका गरेपनि विप्लव समूहले भने घाइते सबै ‘सर्वसाधारण’ रहेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विस्फोटमा परी घाइते हुनुभएका सर्वसाधारण नागरिकहरुको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं ।’ घाइतेहरुको उचित उपचारको व्यवस्था पार्टीले गर्ने प्रतिबद्धतासहित विज्ञप्तिमा अस्पताल परिवार तथा उपचारमा संलग्न चिकित्सकलाई घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन अनुरोध गरिएको छ ।

Next Post

नेपालगञ्ज इजलाशद्वारा ७१ प्रतिशत मुद्दा फर्च्योट

३ श्रावण २०७६, शुक्रबार १५:१७
सदरलाइनडटकम, नेपालगञ्ज : उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलाशले ७१ दशमलव २२ प्रतिशत मुद्दा फर्च्योट गरेको छ । अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका तीन सय ६६ र नयाँ दर्ता भएका एक हजार तीन सय ३७ गरी जम्मा एक हजार सात सय तीनमध्ये एक हजार दुई सय १३ मुद्दा फर्च्योट गरेको हो […]

सम्बन्धित