एक महिनामा जन्मिए ३२ कृष्णसार

सदरलाइन संवाददाता २४ चैत्र २०७९, शुक्रबार १२:४०
 

बर्दिया : मुलुककै दुर्लभ वन्यजन्तु कृष्णसारले एक महिनायता ३२ वटा बच्चा जन्माएको छ । केही कृष्णसारका पोथी गर्भवती रहेकाले यसको संख्या बढ्ने भएको छ ।दुर्लभ वन्यजन्तुमा सूचीकृत कृष्णसार बर्दियाको सदरमुकाम गुलरिया–२ स्थित खैरापुर संरक्षण क्षेत्रमा फैलिएर रहेका छन् ।

संकटमा रहेको कृष्णसार हाल १ सय ९७ वटा रहेकोमा पोथीको संख्या निकै कम छ । पोथी ४२ वटा र १ सय २३ भाले रहेको कृष्णसार संरक्षण क्षेत्रका रेन्जर आशिष त्रिपाठीले जनाए ।

सामान्यता कृष्णसारले वर्षमा दुई पटक बच्चा जन्माउँछ । बच्चा जन्माउने मौसम भनेको असोज, कात्तिक, फागुन र चैत महिनामा । यस वर्ष फागुन र चैत महिनामा बच्चा जन्माउँदा चितुवा र हुँडारले आक्रमण गरेको छैन,’ उनले भने, ‘पहिलो पटक स्यालबाट २१ वटा कृष्णसारका बच्चा मारिएका छन् ।’ हालै जन्मिएका ३२ वटा कृष्णसारका बच्चा पोथी हुन् वा भाले छुट्टाउन तीन महिना लाग्ने संरक्षण क्षेत्रले जनाएको छ ।

एक दशकअघि सम्म यहाँ ३ सयभन्दा बढी कृष्णसार थिए । यसको संख्या जसरी बढ्नुपर्ने हो उल्लेखनीय रुपमा बढ्न सकेको छैन । यसको मुख्य कारण संरक्षण क्षेत्रका कर्मचारीको उदासीनताले चितुवा, हुँडार, कुकुर र अहिले स्यालबाट कृष्णसार मारिएको गुलरिया २ का वडाध्यक्ष एवं संरक्षणकर्मी टंक अधिकारी बताउँछन् । पूर्णरुपमा तारवार नहुनु, नियमित गस्ति नगर्नुलगायतका कारण यस्तो अवस्था भएको अध्यक्ष अधिकारीले बताए । ६ वर्षअघि एकै महिना(चैत)मा कृष्णसारले ७२ वटा बच्चा जन्माएको थियो ।


संरक्षण क्षेत्रसँग जोडिएको सामुदायिक वनमा रहेको चितुवाको आक्रमणले कृष्णसार उच्च जोखिममा रहेको छ । करिब आठ वर्षअघि सामुदायिक वनबाट एउटा चितुवा डाट गरी बर्दिया निकुञ्जमा छाडिएको थियो ।

सामुदायिक वनमा अहिले ३/४ वटा चितुवा रहेको अनुमान छ । चितुवा नजिकको सामुदायिक वनबाट दैनिक आउने गरेको संरक्षण क्षेत्रले जनाएको छ । सामान्यता वर्षमा २ वटा बच्चा जन्माउने यो वन्यजन्तु बासस्थान अतिक्रमणसँगै हुँडार र भुस्याहा कुकुरको आक्रमणको सिकार बन्दै गएको छ ।

सरकारले ०६५ साल चैत ३ गते कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो । संरक्षण क्षेत्रको भौतिक पूर्वाधार विकास, स्याहार सम्भार र उचित वास नभएकाले यो वन्यजन्तु संकटमा परेको छ ।

७ सय ८ विघा क्षेत्रफल रहेको संरक्षित क्षेत्रमा ३ सय ५० बिघा बढी जग्गा भूमिहीनका नाममा घर जग्गा भएको कृष्णसार संरक्षण समितिले जनाएको छ । यस क्षेत्रमा ०२६ सालदेखि ५१ घर ऐलानी जग्गामा बस्दै आएका छन् । १ सय ४१ बिघा ऐलानी जग्गामध्ये ३३ हेक्टरमा ५१ घर परिवार ०६३÷०६४ सालदेखि बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज नाकामा कोरोना संक्रमित बढे

२४ चैत्र २०७९, शुक्रबार १२:४०
नेपालगञ्ज : केही दिनदेखि नेपालगञ्ज नाकामा कोरोना संक्रमित बढेका छन् । रोजगारीको शिलशिलामा भारतका विभिन्न ठाउँबाट आएका नेपालीमा कोरोना देखिएको छ । सरकारले भारतबाट फर्किएका नेपालीको नेपालगञ्ज नाकामा कोरोना जाँच गर्दै आएको छ । बिहीबार पनि चारजनामा कोरोना पुष्टि भएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेजबहादुर वलीका […]

सम्बन्धित