नेपालगञ्ज : सुशासनको क्षेत्रमा क्रियाशिल बागेश्वरी असलशासन क्लब बासको १० औ महाधिवेशन तथा छैठौ राष्ट्रिय सम्मेलन नेपालगञ्जमा सुरु भएको छ ।
समाजमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने उद्देश्य लिएर करिव २४ वर्ष अघि सुशासन रेडियो स्रोताक्लवका रुपमा गठन भई क्रियाशिल बासको सो महाधिवेशनमा ७७ वटै जिल्लाका प्रतिनिधि सहभागि रहेका छन् ।
दुई दिनसम्म सञ्चालन हुने सो महाधिवेशनबाट आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नुको साथै नेपालगञ्ज घोषणापत्र सार्वजनिक गरिने बताईएको छ ।


क्लवका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सुरु भएको महाधिवेशनको प्रतिनिधि सभा सदस्य सूर्य ढकालले उद्घाटन गरेका हुन ।
उद्घाटन सत्रमा राष्ट्रिय सुचना आयोगका पूर्व मुख्य आयुक्त कृष्णहरु बास्कोटा, सुशासनकर्मी केदार खड्का, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, बासका संस्थापक सल्लाहकार रुद्र तिमिल्सेना, बासका कार्यकारी निर्देशक नमस्कार शाहलगायतले आ–आफनो भनाई राखेका थिए ।