नेपालगञ्ज : माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस–एमाले सच्चिएर आएमा पुनः गणतन्त्रबादी शक्ति एकठाउमा हुनसक्ने बताएका छन् ।
प्रेस सेन्टर बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटका अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन । परिस्थितिले गणतन्त्रबादी एकठाउँमा हुन आवश्यक बनाएको बताए ।
पूर्व प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेस र एमाले बिस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्ता भएकोले पनि सबै गणतन्त्रबादीलाई समेटेर अघि बढ्नु पर्ने दायित्व उनीहरुकै हुने बताए ।
उनले पछिल्लो राजनीतिक अवस्थाप्रति ईगित गर्दै तत्काल आत्तिनु पर्ने अवस्था नभए पनि गणतन्त्रबादीहरु सचेत हुनुपर्ने अवस्था चाही आएको ठोकुवा गरे ।


उनले कसैको नाम समेत नलिएर गणतन्त्र फालेर सत्ता हत्याउने दिवा स्वप्न नदेख्न चेतावनी समेत दिए ।उनले भने–‘गणतन्त्र फालेर पुरानै सत्ता हत्याउने सपना नदेखे हुन्छ । सबैलाई थाहा छ । मूर्ती कसले चोरेको हो, क्रेनको मद्दतले कसरी निकालिएको थियो ? कोहो मूर्ती चोर र कसरी फिर्ता ल्याईएको हो भनेर ।’
उनले गणतन्त्रमाथी धावा बोल्ने कसैको तागत नभएको बताउदै जनतालाई जागरण गरी सुशासन कायम गर्न आवश्यक रहेको औल्याए ।
उनले आफु र आफ्नो पार्टी २०८४ सम्म सरकारको नेतृत्वमा दाबी नरहने बताउदै जनताको घरदैलोमा सो अबधीसम्म अभियान लिएर जाने दृढता व्यक्त गरे । सो कार्यक्रममा पार्टीका नेता नरायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालगायतको उपस्थिति रहेको थियो ।