नेपालगञ्ज नाकामा कोरोना संक्रमित बढे

सदरलाइन संवाददाता २४ चैत्र २०७९, शुक्रबार १२:४६
 

नेपालगञ्ज : केही दिनदेखि नेपालगञ्ज नाकामा कोरोना संक्रमित बढेका छन् । रोजगारीको शिलशिलामा भारतका विभिन्न ठाउँबाट आएका नेपालीमा कोरोना देखिएको छ । सरकारले भारतबाट फर्किएका नेपालीको नेपालगञ्ज नाकामा कोरोना जाँच गर्दै आएको छ । बिहीबार पनि चारजनामा कोरोना पुष्टि भएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेजबहादुर वलीका अनुसार भारतको गढवाल, चेन्नाई, लखनऊ र हिमाञ्चलबाट आएका नेपालीमा कोरोना देखिएको छ ।

उनीहरु सुर्खेत, बाँके र दैलेख जिल्लाका हुन् । यो नाकामा चैत महिनामा ३४ जनामा कोरोना देखिएको छ । कोरोना देखिएकाहरुमा सामान्य लक्षण देखिएको छ । उनीहरुलाई घरमा गएर बस्न सल्लाह दिदै पठाउने गरिएको छ । भारतमा ठूलो संख्यामा कोरोना संक्रमित देखा पर्दा त्यसको असर नेपालमा पर्ने गर्दछ । नेपालका पहाडी जिल्लाका ठूलो संख्याका नेपाली कामका लागि भारत जाने गर्दछन् ।

उनीहरु घर फर्किदा कोरोना बोकेर आउने गरेका छन् । नेपालगञ्ज नाकाबाट कामका लागि भारतमा प्रायः दैलेख, जाजरकोट, रुकुम, रोल्पा, सुर्खेतका मानिस जाने गर्दछन् । सधैं भीडभाड हुने यो नाकामा सरकारले कोरोनाको संक्रमण देखिदादेखि नै जाँच गर्ने व्यवस्था मिलाएको छ । बीचमा कोरोना नदेखिएपछि जाँच बन्द गरिएको थियो ।


भारतमा पुनः कोरोना देखिन थालेपछि नेपालगञ्ज नाकामा सतर्कता अपनाइएको छ । भारतबाट आउने सबैजसोलाई रोकेर जाँच गर्ने गरिन्छ । पहाडी जिल्लाका मानिसलाई कोरोना देखिए पनि नाकामा ‘पुष्टि’ गरेर पठाउनुबाहेक केही हुने गरेको छैन ।

भारतबाट आएका नेपालीलाई नाकामा लाइन लगाएर एन्टिजेन जाँच गरिन्छ र कोरोना पुष्टि भएकालाई ‘तिमीलाई कोरोना छ, घरमा गएर बस्नू’ भनेर पठाउने गरिन्छ । लक्षणसहित देखिएका संक्रमितलाई पनि यहाँ कुनै उपचार गरिदैन । कोरोना जाँचको कुनै अर्थ देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा राष्ट्रिय युवा संघको महाधिवेशन तयारी अन्तिम चरणमा

२४ चैत्र २०७९, शुक्रबार १२:४६
नेपालगञ्ज : राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । बाँकेको नेपालगञ्जमा चैत २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका लागि सचिवालय गठन गरेर तयारीका कामहरु प्रचार प्रसार, अतिथिहरुलाई आमन्त्रणका लागि पत्राचार, मञ्च व्यवस्थापन, खाना र आवास व्यवस्थापन, आर्थिक संकलन लगायतका कामहरु करिब अन्तिम […]