नेपालगञ्ज : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रवारदेखि शुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि देशभर एकैसाथ शुरु भएको हो । शुक्रवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ । एसईई परीक्षा चैत २९ गतेसम्म चल्नेछ । आवेदन भरेका ५ लाख १६ हजार ५ सय ७७ जना मध्ये ४ लाख ८४ हजार २ सय २७ जना परीक्षामा सहभागी भएका छन् ।
परीक्षाका लागि देशभर २ हजार ३६ र जापानमा एउटा गरी २ हजार ३७ परीक्षा केन्द्र कायम गरिएको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् । विद्यार्थीहरुलाई कुनै डरत्रास नमानी ढुक्क भएर परीक्षा दिन परीक्षा नियन्त्रण कार्यालयले आग्रह गरेको छ ।
यसैबीच बाँकेमा ९ हजार २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । बाँकेका ३३ वटा परीक्षा केन्द्रबाट विद्यार्थीले परीक्षा दिन लागेको शिक्षा विकास तथा समन्वय इकाई बाँकेले जनाएको छ । शुक्रवारको परीक्षा शान्तिपूर्ण र मर्यादित ढंगले सञ्चालन भएको छ ।