नेपालगञ्ज : बाँकेमा मापसे गरेर सवारी चलाउने चालकलाई एक घण्टाको सवारी चालक सचेतना कक्षामा अनिवार्य सहभागी हुनु पर्ने भएको छ । यसअघि एक हजार जरिवाना लिएर छाड्ने गरिएको थियो ।
जिल्ला ट्राफिक कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार मापसे चेकजाँचमा मापसे सेवन गरेको अवस्थामा भेटिएका चालकहरुलाई अनिवार्य यस्तो कक्षामा बस्नु पर्ने भएको हो ।
जिल्ला ट्राफिक कार्यालय कोहलपुरका प्रहरी बरिष्ठ नायव निरिक्षक आम पौडेलले मापसे चेक जाँच गर्दा मापसे सेवन गरी सवारी चलाउने चालकलाई जरिवानामात्र लिएर छोड्दा उनीहरुमा सुधार नआएको पाईएपछि यस्तो निर्णयमा पुगिएको बताए ।
ट्राफिक प्रहरीले काठमाण्डौ लगायतका स्थानमा पहिला नै यस्तो नियम कार्यन्वयन गरेको भए पनि जिल्ला ट्राफिक कार्यालय कोहलपुर बाँकेमा भने बिहीबारदेखि पहिलोपटक लागू गरिएको जिल्ला ट्राफिक निरिक्षक तिलक सुनारले जानकारी दिए ।
हालैमात्र जिल्ला ट्राफिकको कमाण्ड सम्हाल्न आईपुगेका उनले जिल्लाको ट्राफिक व्यवस्था सञ्चालनको लागि सबैको सहकार्यमा व्यवस्थित बनाउदै लैजाने बताएका छन् ।
चालु आर्थिक वर्षको फागुण मसान्तसम्म मापसे कारवाहीमा १ हजा ९ सय ९९ जना कारवाहीमा परेका छन् । सो कारवाहीबाट जिल्ला ट्राफिक कार्यालय कोहलपुरले १९ लाख ९९ हजार राजस्व समेत संकलन गर्न सफल भएको छ ।