बाँकेमा बन अतिक्रमण गरेर बनाइएको घरटहरा भत्काइयो

सदरलाइन संवाददाता १८ फाल्गुन २०७९, बिहीबार १२:३९
 

नेपालगञ्ज : वन डिभिजन कार्यालय बाँकेले वन अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काउने कार्य शुरु गरेको छ । डिभिजन कार्यालयका सहायक वन अधिकृत गणेश खड्काले सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर संरचना भत्काइएको बताएका छन् ।

जिल्लाको राप्तीसोनारी गाउँपालिकाको झगडिया गाउँ नजिकै रहेको हुलाकी सडकको छेउका ५५ अवैध घरटहरा भत्काइएको छ । सर्वदलीय बैठकको निर्णयअनुसार १० दिने सूचना जारी गरेर ती घरटहरा भत्काइएको जानकारी उनले जानकारी गराए ।

उनले राप्ती नदीपूर्व पर्ने हुलाकी सडक छेउका धेरैजसो सरकारी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको बताए । कोहलपुर सब–डिभिजन वन कार्यालयअन्तर्गतको कोहलपुर–८ स्थित शीतलछाया सामुदायिक वन, कोहलपुर–७ स्थित आस्था सामुदायिक वन, कोहलपुरको विन्ध्यवासिनी सामुदायिक वन, बागेश्वरी सामुदायिक वन, ज्योति सामुदायिक वन र वैजनाथ गाउँपालिकाको खैरेनी सामुदायिक वन, प्रगतिशील सामुदायिक वन क्षेत्रमा पनि अतिक्रमण गरी घरटहरा निर्माण गरिएका छन् ।

सो अतिक्रमण २०५८ सालदेखिको भएको जनाइएको छ । सिक्टा सब–डिभिजन वन कार्यालयअन्तर्गत राप्तीसोनारी गाउँपालिकाको वडा नं १, ३, ४ स्थित रामजानकी, बागेश्वरी, लामीडाँडा, गाइलेख, सुनधारा सामुदायिक वनको जग्गा पनि अतिक्रमण भएको छ ।


त्यहाँ अतिक्रमण भएको वन करिब ४२ हेक्टर रहेको छ । नरैनापुर सब–डिभिजन वन कार्यालयअन्तर्गत वडा नं १, २, ३, ४, ५, ६ का किसान, झरनिका, गाजी, शान्ति, समीर, सदाबहारलगायत नामका सामुदायिक वनको करिब १७५ हेक्टर क्षेत्रफलको वन अतिक्रमण भएको छ ।

नेपालगञ्ज सब–डिभिजन वन कार्यालयअन्तर्गत डुडुवास्थित हजरत, झोरा, वभनपुर्वा सामुदायिक वनको करिब ३२ हेक्टर क्षेत्रफलमा अतिक्रमण भएको छ । राप्ती सब–डिभिजन वन कार्यालयअन्तर्गत समयभवानी, सुनखोली, सिद्धेश्वरी, कर्णेराज, राप्तीपीडित, भगवती, कुसुमिया, सिद्धबाबालगायत सामुदायिक वनको करिब १९० हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ ।

शमशेरगञ्ज सब–डिभिजन वन कार्यालयअन्तर्गत हरियाली, जनकल्याण, हरलाफाटा, सिद्धसाई कुमारी, दुर्गा भवानी, जनमुखी, कोटहीदेवी, मधु सामुदायिक वनको करिब ३० हेक्टर क्षेत्रफलमा अतिक्रमण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशमा २४.३२ प्रतिशत बजेट खर्च

१८ फाल्गुन २०७९, बिहीबार १२:३९
दाङ : लुम्बिनी प्रदेश सरकारको चालु वर्षको हालसम्म २४.३२ प्रतिशत बजेट खर्च भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव दीपकराज नेपालले चालु वर्षको माघ मसान्तसम्म प्रदेश सरकारका मन्त्रालयगत जम्मा खर्च २४.३२ प्रतिशत रहेको जानकारी दिए । उनका अनुसार चालु खर्च २८.८९ र पुँजीगत खर्च २०.९८ प्रतिशत छ । […]