भेरी–बबई ‘डाइभर्सन’को भौतिक प्रगति हालसम्म ५९ प्रतिशत

सदरलाइन संवाददाता १८ फाल्गुन २०७९, बिहीबार १२:३०
 

नेपालगञ्ज : निर्माण शुरु भएको आठ वर्ष बित्दा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ । वित्तीय प्रगति ४३ प्रतिशत भएको आयोजनाले बताएको छ ।

टनेल बोरिङ मेसिन प्रविधिको नेपालमा पहिलोपटक सुरु गरी निर्माण कार्य सुरु भएको आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ गराउनुका साथै ४६ मेगावाट विद्युत उत्पादन गर्ने योजना छ ।

चिनिया कम्पनी चाइना इन्जिनियरिङ ओभरसिज प्रालिले १२ किलोमिटर लामो सुरुङ १० अर्ब ५६ करोड लागतमा निर्माण गरिसकेको छ । तोकिएको समयभन्दा एक वर्ष अगावै टनेल बोरिङ मेसिनको सहायताले सुरुङ निर्माण भइसकेको हो ।

चिनिया कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण जेभी र आयोजनाबीच आर्थिक वर्ष २०७९–०८० मा काम सम्पन्न गर्नेगरी ११ अर्ब ५२ करोड ६१ लखमा २०७६ साउनमा ठेक्का सम्झौता भएर पावरहाउस तथा सर्ज साफ्ट, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल अन्तर्गतका काम चलिरहेको छ ।


बाँध र विद्युत् उत्पादन गृह निर्माणका काम सञ्चालनमा छन् । सबै चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्नुपर्ने कार्यादेश भएको भए पनि यी काम सम्पन्न गर्न थप दुई वर्ष लाग्ने अनुमान छ । आयोजनाको कुल लागत ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म १५ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ खर्च भएको आयोजनाले बताएको छ ।

सन् १९९८ मा जापानको अन्तर्राष्ट्रिय सहयोग संस्था जाइकाले भेरी बबईको वातावरणीय प्रभाव मूल्यांकन गरी भेरी नदीको पानी बबईमा खसाली जलविद्युत तथा सिँचाइको प्रचुर सम्भावना रहेको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो ।

सुर्खेतको भेरीगंगा नगरपालिका ११ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेटसहितको ब्यारेज निर्माण गर्न हुँदैछ । ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो रहने बताएको छ । १२ किलोमिटर सुरुङमार्फत भेरीगंगा नगरपालिका ५ हात्तीखालमा भेरीको पानी बबई नदीमा मिसाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बन अतिक्रमण गरेर बनाइएको घरटहरा भत्काइयो

१८ फाल्गुन २०७९, बिहीबार १२:३०
नेपालगञ्ज : वन डिभिजन कार्यालय बाँकेले वन अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काउने कार्य शुरु गरेको छ । डिभिजन कार्यालयका सहायक वन अधिकृत गणेश खड्काले सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर संरचना भत्काइएको बताएका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिकाको झगडिया गाउँ नजिकै रहेको हुलाकी सडकको छेउका ५५ अवैध घरटहरा भत्काइएको […]