नेपालगञ्जमा वडा नम्बर ३ बाट ‘हात्तीपाइले औषधि सेवन अभियान’ शुरु

सदरलाइन संवाददाता ११ फाल्गुन २०७९, बिहीबार १४:२६
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम शुभारम्भ गरेको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७९ अन्तर्गत वडा नम्बर ३ को वडा कार्यालयमा बिहीवार एक औपचारिक कार्यक्रमको आयोजना गरी औषधि सेवन कार्यक्रम शुभारम्भ गरिएको हो ।

‘हात्तीपाइले विरुद्धको औषधि खाऔंः यो बर्षलाई अब अन्तिम बनाऔं’ भन्ने नाराका साथ अभियान शुरु गरिएको हो ।

अभियान सुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य आदेशकुमार अग्रवाल, जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.बद्री चापागाईं, नेपालगञ्ज मेडिकल कलेजका चिकित्सक डा.रोमन किदवाई, डा.रोमा बोरा लगायतको उपस्थिति थियो । कार्यक्रममा उपस्थित अतिथिहरुले औषधि सेवन गरेर अभियानको शुभारम्भ गरेका थिए ।

औषधि शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य अग्रवालले हात्तीपाइले रोग लागिसकेपछि निको नहुने भन्दै यसबाट जोगिन औषधि सेवन गर्नुको विकल्प नरहेको बताए । जिल्ला समन्वय समिति प्रमुख चौधरीले आफ्नो स्वास्थ्यको लागि दायाँबायाँ नसोचेर निर्धक्कका साथ औषध सेवन गर्न आग्रह गरे ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्टले अफबाह र हल्लाका पछि नलागेर ढुक्क भएर औषधि सेवन गर्न नेपालगञ्जबासीलाई आग्रह गरे । उनले आफ्ना बालबालिकालाई दादुरा खोप नलगाउँदा भोगेको दुःख र पीडा सम्झँदै हात्तीपाइलेको औषधि सेवन गर्न आग्रह गरे । नगर प्रमुख विष्टले औषधि खाए नखाएको एकिन विवरण राख्न स्वास्थ्य महाशाखालाई निर्देशन समेत दिए ।


नेपालगञ्ज मेडिकल कलेजका चिकित्सक डा. किदवाईले औषधिको कुनै साइड इफेक्ट नरहेको प्रष्ट पार्दै हात्तीपाइेले रोगबाट बच्न ढुक्क भएर औषधि सेवन गर्न आग्रह गरे । नेपालगञ्जमा सबैभन्दा कम कभरेज भएको वडा नम्बर ३ बाट अभियान थालिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । चन्दका अनुसार मुस्लिम समुदायको बसोबास रहेको वडा नम्बर ३ मा २१ प्रतिशत मात्र कभरेज रहेको छ ।

नेपालगञ्जमा हाल साढे चार सयको हाराहारीमा हात्तीपाइलेका रोगी रहेको चन्दले जानकारी दिए । औषधि सेवन गरेका व्यक्तिहरु पनि औषधि सेवन नगर्ने व्यक्तिहरुका कारण जोखिममा रहेको चन्दले बताए । उनले पछिल्लो समय नयाँ रोगीहरु भेटिएकाले सबै गम्भीर भएर औषधि सेवन कार्यक्रमलाई सफल बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए ।

स्वास्थ्यकर्मीहरुका अनुसार दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले यो औषधि खानु हुँदैन । सिकिस्त बिरामीहरु भन्नाले रोगका कारण ओछ्यानमा परेका बिरामी, अस्पताल भर्ना भएका बिरामीहरु र मिर्गौला रोगको लागि डायलाइसिस जस्ता जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका बिरामीहरु हुन् ।

यो औषधि खाली पेटमा खान नहुने, शरीरमा हात्तीपाइले रोगको परजीवि भएका व्यक्तिहरुमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेस्थित अम्बे स्टिल्समा आगलागी, अढाई करोड बढीको क्षति

११ फाल्गुन २०७९, बिहीबार १४:२६
नेपालगञ्ज : बाँकेको जानकीस्थित अम्बे स्टिल्समा आगलागी भएको छ । जानकी गाउँपालिका वडा नम्बर ५ स्थित अम्बे स्टिल्समा रहेको भट्टीमा आगो बाल्न प्रयोग गरिने एफओ नामक तेलको डिपोमा आगलागी भएको इलाका प्रहरी कार्यालय खजुराखुर्दले जनाएको छ । आगलागीबाट करिब २ करोड ६४ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । […]