नेपालगञ्ज : नागरिक उन्मुक्ति पार्टीबाट सांसद बनेका अरुण चौधरी पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीले बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो । फरार सूचीमा रहेकाले उनलाई धनगढी स्थित कैलाली जिल्ला अदालतमा लैजाने तयारी भइरहेको छ । चौधरी कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।
उनीसहित तीन जनालाई जिल्ला अदालत कैलालीले ट्रयाक्टरमा आगो लगाएको अभियोगमा ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । सांसद चौधरीसहितले २०६५ साल भदौ ३ गते लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको सरकारवादी फौजदारी मुद्दा परेको थियो ।
हालको लम्कीचुँहा नगरपालिका तथा साबिकको बलिया गाविस क्षेत्रमा उक्त ट्रयाक्टर जलाइएको थियो । प्रतिनिधिसभाका सदस्य चौधरीसहित तीन जनालाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते कैद तोकेको थियो ।