सन्तानेश्वर र बाबा बर्फानी मन्दिरमा पर्यटकको संख्या बढ्दै

सदरलाइन संवाददाता १८ माघ २०७९, बुधबार १६:३०
 

नेपालगञ्ज : बाँके जिल्लाका दुई धार्मिकस्थल पछिल्लो समयमा आएर नेपाल र भारतका धार्मिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेका छन् । जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको पहाडी क्षेत्रमा रहेका सन्तानेश्वर र बाबा बर्फानी मन्दिरमा हाल आएर भारत र नेपालबाट पुग्ने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

राप्तिसोनारी ४ स्थित ‘बर्फानी बाबा’ मन्दिर र नरैनापुर ६ स्थित चुरे पहाडमा अवस्थित ‘सन्तानेश्वर बाबा’ मन्दिरमा दर्शनका लागि आउने नेपाली र भारतीय धार्मिक पर्यटक बढ्दै गएको पर्यटन प्रर्वद्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । उनले रमणीय स्थानमा रहेका ती दुबै धार्मिक स्थानको महत्वबारे प्रचारप्रसार हुन थालेपछि दुबै देशका धार्मिक पर्यटक आउने क्रम बढेको बताए ।

ती दुबै मन्दिरमा जाने स्वदेशी र विदेशी पर्यटक बढ्दै गएपछि गाउँपालिकाले पनि विशेष चासो लिएर दुबै मन्दिरसम्म पुग्ने बाटो र अन्य भौतिक पूर्वाधार निर्माणमा अग्रसरता देखाएका छन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले गाउँपालिकाको पहाडी क्षेत्रमा रहेका सन्तानेश्वर मन्दिरमा पर्यटकको सङ्ख्या बढेकाले त्यहाँसम्म पुग्ने सडक निर्माण र अन्य पूर्वाधारमा विशेष ध्यान दिइने बताए ।

सोही प्रकारले राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तत्प पौडेलले बाबा बर्फानी मन्दिरमा धार्मिक पर्यटक बढ्दै गएकाले सो मन्दिरको संरक्षणका लागि विशेष योजना सञ्चालन गरिने तयारी भइरहेको बताए ।


चुरे पहाडमा रहेका मन्दिरसम्म पुग्ने सडक र हेलिप्याड निर्माणमा प्रदेश सरकारले चासो राख्नुपर्ने धारणा दिन नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलको छ । उनले ती दुबै मन्दिरलाई सीमापारी मात्रै राम्ररी चिनाउन सकिए धेरै पर्यटक आकर्षित गर्न सकिने बताए ।

यसैबीच, नेपालगञ्जमा सम्पन्न भएको वेस्टर्न ट्राभल्स् मार्टमा आएका भारतीय पर्यटन व्यवसायीलाई पनि सन्तानेश्वर र बाबा बर्फानी मन्दिरबारे विस्तृत जानकारी गराइएको उनले बताए ।

भारतीय पर्यटन व्यवसायीले ती मन्दिरप्रति विशेष चासो लिएकाले भारतीय पर्यटक ठूलो सङ्ख्यामा आउने विश्वास गरिएको छ ।

उता, लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री कृष्णा केसी ‘नमूना’ले हालै दुबै मन्दिरमा अवलोकन गरेपछि धार्मिक पर्यटकीय गन्तव्य घोषणा गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका प्रजिअ आचार्यद्वारा सीमा क्षेत्रको अनुगमन

१८ माघ २०७९, बुधबार १६:३०
नरैनापुर (बाँके) : बाँकेको भारतसँग सीमा जोडिएको नरैनापुर क्षेत्रको अनुगमन गरिएको छ । नरैनापुरको गंगापुरमा शुक्रबारबाट सुरु हुन लागेको मेलालाई ध्यानमा राख्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो । बाँकेमा केही दिनअघि मात्रै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको नेतृत्वमा सीमा क्षेत्रको अनुगमन गरिएको हो । आचार्यले सीमावर्ती […]