बाँकेका जनप्रतिनिधिहरुले भने–कोहलपुरको विकासमा एक छौ

सदरलाइन संवाददाता १७ माघ २०७९, मंगलवार १५:०४
 

कोहलपुर (बाँके) : बाँकेबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुले कोहलपुरको समग्र विकासका लागि आफुहरु प्रतिबद्व रहेको बताएका छन् ।

कोहलपुर नगरपालिकाले बाँके जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित सदस्यहरुलाई बधाई ज्ञापन गर्न मंगलवार कोहलपुरमा आयोजित कार्यक्रममा प्रतिनिधि र प्रदेश सभा सदस्यहरुले कोहलपुरको समग्र विकासका लागि आफुहरु प्रतिवद्व रहेको बताएका हुन् ।

उनीहरुले कोहलपुरसँगै बाँकेको समग्र विकासका लागि सांझा संकल्प तयार पारेर अघि बढ्ने बिश्वास दिलाए । बाँके क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले कोहलपुरसहित बाँकेको विकासका लागि राजनीति भन्दा माथि उठेर काम गर्ने बिश्वास दिलाए । उनले बाँकेको विकासका लागि जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिबीच एक भएर अघि बढ्ने सहमति भएको पनि जानकारी दिए । त्यसैअनुसार कोहलपुर क्रिकेट मैदान निर्माण, चपरगौरी निबुवा खड्कवार हुँदै घुइँयाबारी सडक निर्माण र कोहलपुरलाई शैक्षिक हब बनाउने योजनालाई अघि सारिएको प्रतिनिधि सभा सदस्य ढकलले बताए ।

यस्तै प्रतिनिधि सभा सदस्य आशा विकले समग्र बाँकेको विकासका लागि बाँकेबाट निर्वाचित सांसद एक हुनु पर्ने बताउँदै आफुहरु त्यहीँअनुसार अघि बढेको बताइन् । चुनाव अघि दलका प्रतिनिधि भएपनि जितेर आइसकेपछि भने आफुहरु दलगत विचार भन्दा माथि उठेर जनताको सेवामा खटिनु पर्ने धारणा व्यक्त गरिन् । उनले कोहलपुर नगरपालिकाको नेतृत्व यूवा भएकाले सहकार्य र समन्वय गरेर कोहलपुरको समग्र विकासमा गर्न तयार रहेको बताइन् ।

यस्तै बाँके क्षेत्र १ (२) बाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले कोहलपुरको विकासका लागि सबै जनप्रतिनिधि एक हुन आवश्यक रहेको बताए । उनले कोहलपुरलाई शैक्षिक हवको रुपमा विकास गर्न स्थानीय सरकारले बहस चलाउन जरुरी देखिएको बताए । यस्तै कोहलपुरमा विशाल पार्क निर्माण गर्दै यसलाई पर्यटकिय नगरीका रुपमा पनि स्थापना गर्न सकिने बताए । उनले त्यसका लागि स्थानीय सरकारसँग समन्वय गर्न प्रदेश सरकार तयार रहेको पनि बताए ।


यस्तै बाँके क्षेत्र ३ (१) बाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य बादशाह कुर्मीले कोहलपुर नगरपालिका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मुटुको रुपमा रहेकाले यसको विकासका लागि सबैको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले कोहलपुरमा यातायात कार्यालय स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

यस्तै बाँके क्षेत्र ३ (२) बाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य रत्न खत्रीले कोहलपुर उदयमान सहर रहेकोले यहाँको विकासका लागि सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको बताए । उनले कोहलपुरलाई समृद्व सहर बनाउन गुरु योजना बनाउन आग्रह समेत गर ।

त्यसैगरी कार्यक्रममा प्रदेश सभा सदस्यहरु बसन्ती अधिकारी, संजुकुमारी थारु, माया पुन, सुशिला बादी र मीना कुमारी बोहरा सिद्दिकीले कोहलपुरसहित बाँकेको समग्र विकासका लागि आफ्नो तर्फबाट गर्नु पर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिवद्वता जनाए ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो । त्यसक्रममा नगर प्रमुख आचार्यले कोहलपुरको विकासका लागि प्रतिनिधि र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै सदस्यहरुको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले तीन तहका सरकार रहेपनि अहिले आम नागरिकको भरोसा भने प्रतिनिधि र प्रदेश सभा भन्दा स्थानीय सरकारसँग बढि रहेको बताए । उनले जनतालाई तीनवटै सरकारको आभास दिलाउन आवश्यक रहेको बताए । उनले कोहलपुरको विकासका लागि संस्थागत सुधारको काम सुरुवात गरिएको बताए ।

नगर उपप्रमुख संगिता सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेको बधाई ज्ञापन कार्यक्रमको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको सात स्थान मंगलवारदेखि ‘फ्री वाईफाई जोन’

१७ माघ २०७९, मंगलवार १५:०४
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको छ । नगर प्रमुख प्रशान्त विष्टले मंगलवार ‘फ्री वाईफाई जोन’ को सुभारम्भ गरेका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकसँगको सहकार्यमा उपमहानगरपालिकाले निःशुल्क वाईफाईको सेवा सुरु गरेको हो । पहिलो चरणमा नगरका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको हो […]

सम्बन्धित