जुम्ला : भूकम्प आउन सक्ने भन्दै गलत हल्ला फैलिएपछि कर्णालीको मुगु, कालिकोट र जुम्लाबासी खुलामैदानमा रातभर जाग्राम बसेका छन् । उनीहरुले आफूलाई आवश्यक पर्ने सामान लिएर कठ्यांग्रिँदो चिसोमा खुला आकाशमुनि रात बिताएका हुन् ।
जुम्ला सदरमुकाम खलंगाको चोकचोकमा आगो बालेर सर्वसाधारण बसेका थिए । उनीहरुले कम्बल, महत्त्वपूर्ण सरसामान समेत आफैसँग लगेका थिए । गाउँगाउँमा पनि मानिसहरु बाहिर आगोबालेर बसेका थिए ।
मध्यरातपछि बुढाबुढी,केटाकेटीलाई समेत घर बाहिर निकालेर राखिएको देख्न पाइन्थ्यो । मस्त निद्रामा रहेकाहरु पनि आफन्तले फोन गरेर सुरक्षित स्थानतिर बस्न आग्रह गरेपछि खुलामैदानमै आएका थिए ।
पहिलो पटक राति १ बजे भूकम्प आउने हल्ला फैलियो । त्यसपछि ३ देखि ४ बजे सम्म भूकम्प आउने हल्ला थियो । अन्तिममा ५ बजेर १२ मिनेटमा ठूलो रेक्टर स्केलको भूकम्प आउने हल्ला फैलिएपछि कर्णालीका नागरिक त्रासित बनेका थिए । राति १२ बजे देखि नै खुला आकाशमा बसेका मानिस बिहान ६ बजेतिर मात्रै घरभित्र प्रवेश गरेका थिए ।