कैलालीमा हात्तीपाइले रोग निवारणका लागि ११ औँ पटक अभियान चलाईंदै

सदरलाइन संवाददाता १६ माघ २०७९, सोमबार १३:४३
 

धनगढी : कैलालीमा यसअघि दस पटकसम्म हात्तीपाइले रोग निवारणका लागि अभियान सञ्चालन गरे पनि सफल हुन सकेको छैन । दसौँ पटकसम्मको अभियान सफल नभएपछि कैलालीमा यसवर्ष ११औं पटक अभियान सञ्चालन गरिँदै छ ।

पटक–पटक अभियान सञ्चालन गरे पनि औषधी सेवनकर्ताको प्रतिशत बढ्न नसक्दा एघारौँ पटक अभियान चलाउन लागेको स्वास्थ्य कार्यालय, कैलालीले जनाएको छ ।

स्वास्थ्य कार्यालय, कैलालीका अनुसार हात्तीपाइले रोग नियन्त्रण गर्न यो वर्ष करिब ९ लाख डोज औषधी खुवाइने लक्ष्य छ ।

हात्तीपाइले निवारण भएको जिल्ला घोषणा हुन अन्य जिल्लामा बढीमा ८ पटकसम्म औषधी खुवाइएको भएपनि कैलालीमा दसौँ पटक अभियान सञ्चालन गर्दा पनि सफल हुन सकेन ।

स्वास्थ्यकर्मीले भने यस जिल्लामा सर्वसाधारण त कुरै छोडौँ, सरकारी कर्मचारीले समेत हात्तीपाइलेको औषधी सेवन गर्दैनन् अनि कसरी अभियान सफल हुन्छ भनी गुनासो गर्दै आएका छन् । यस अभियानलाई स्थानीय तहका प्रमुखहरूले पनि गम्भीरताका साथ नलिँदा सफल हुन नसकेको स्वास्थ्यकर्मीको भनाइ छ ।

आइतबार मात्र धनगढीमा कैलालीका १३ वटै स्थानीय तहका प्रमुखलाई बोलाएर हात्तीपाइले निवारण सम्बन्धी गोष्ठी राखिएको थियो । तर त्यसमा ४ जना स्थानीय तहका प्रमुख मात्र सहभागी भए । सहभागी भएका उनीहरू पनि केहीबेर मात्र सहभागी भए तर त्यति चासो भने दिएनन् ।

यसअघि कैलालीमा दस पटकसम्म हात्तीपाइले रोग निवारण अभियान चलाइए पनि कुल जनसंख्याको करिब ५० प्रतिशतले मात्र औषधी सेवन गर्दा अभियान असफल भएको हो । एघारौँ पटकमा अभियान चलाएर कैलालीमा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य छ ।


यस पटक करिब ९ लाख जनसंख्यालाई तीन किसिमको औषधी खुवाइने भएको छ । दुई वर्षमाथिका हरेक व्यक्तिलाई हात्तीपाइले रोगको परजीवी मार्ने औषधी डाइइथाइलकर्मामाजिन, जुका मार्ने एल्मिन्डाजोल र आइभरमेक्टिन खुवाइने छ ।

यस पटकको अभियान सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । उनले भने, ‘स्वास्थ्यकर्मीको प्रयासबाट मात्र यो अभियान सफल पार्न सम्भव छैन, स्थानीय तहका प्रमुखदेखि समाजका हरेक क्षेत्रका मान्छेले अभियानमा सहयोग गर्नुपर्छ ।’

लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग नियन्त्रण गर्न सबैभन्दा भरपर्दो उपाय समुदायमा आम औषधी सेवन गराउनु हो । हात्तीपाइले रोग निवारणमा सफलता हासिल गर्न कैलालीमा यो वर्ष ८० देखि ८५ प्रतिशतलाई औषधी सेवन गराउने लक्ष्य राखिएको छ । हात्तीपाइलेको औषधी २ वर्षमुनिका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी आमाहरू र सिकिस्त बिरामीले सेवन गर्न नहुने चिकित्सकहरूले बताएका छन् ।

दैनिक ज्यालादारी र मौसमी कामदार, केही जातीय समुदाय विषेशगरी महिला, निरक्षर दलित समुदाय, शिक्षित वर्गका व्यक्तिहरू, सहरी जनसंख्या र सरकारी कर्मचारीले औषधी सेवन गर्न इन्कार गर्ने गरेका छन् ।

यसैगरी सहरमा बसोबास गर्ने, सामाजिक र आर्थिक रूपमा उच्च वर्गका केही जातीय समुदायमा पनि औषधी सेवन नगर्ने प्रवृत्ति रहेको स्वास्थ्य अधिकारीले बताएका छन् ।

हात्तीपाइले रोग मानिसलाई अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका ३०० बालबालिका दादुरा संक्रमित, २९२ जना निको

१६ माघ २०७९, सोमबार १३:४३
नेपालगञ्ज : बाँकेमा दादुरा संक्रमण प्रकोपको रुपमा फैलिएको छ । पुष १२ गतेदेखि फैलिएको दादुरा आइतबारसम्म ३०० बालबालिकामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार बाँकेको पाँच पालिकामा गरी संक्रमित बालबालिकाको संख्या ३०० पुगेको हो । हालसम्म संक्रमित भएकामध्ये २९२ जना निको भइसकेका छन् भने सात […]